![prachanda 1](https://www.sutranews.com/wp-content/uploads/2022/12/prachanda-1.jpg)
![प्रधानमन्त्रीको च्याँखेदाउमा प्रचण्डः एमालेलाई दिन सक्छन् प्रथम नागरिक](https://www.sutranews.com/wp-content/uploads/2022/12/prachanda-1.jpg)
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सरकारको प्रधानमन्त्री बन्ने कसरतमा लागेका छन्। सत्ता गठबन्धनले प्रधानमन्त्रीमा प्रचण्डको नाममा सहमति नगरेको खण्डमा दोस्रो ठूलो दल नेकपा एमालेसँग शक्ति बाँडफाँटका लागि विकल्प खुला गर्ने माओवादीको तयारी छ।
उच्च स्रोतका अनुसार प्रचण्डले एमालेका दोस्रो तहका नेतासँग गोप्य रुपमा यस्तो विकल्पबारे चर्चा चलाएका छन्। प्रचण्डलाई प्रधानमन्त्रीमा एमालेले सहमति गरेको खण्डमा राष्ट्रपति पदमा सघाउने प्रस्ताव गरिएको स्रोतको दाबी छ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी देखाएको छ। कांग्रेसका नेता व्यवस्थापनका लागि पनि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले दुवै ठूला पदमा दाबी कायम राखेका छन्। जसका कारण गठबन्धनमा शक्ति बाँडफाँटमा समस्या आउने पक्कापक्की छ।
गठबन्धन दलभित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको पद बाँडफाँटमा समस्या देखिएको छ। कांग्रेसले मुख्य दुई प्रथम नागरिकको हैसियतमा रहने राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री नछाड्ने संकेत देखाएको छ भने गठबन्धन बैठकका निम्ति पनि तदारुकता देखाएको छैन।
एमाले उपमहासचिव बिष्णु रिमालले मुख्य पदमा प्रतिपक्षी दलसँग पनि साझेदारी गरेर जानुपर्ने एमालेको धारणा सार्वजनिक गरिसकेका छन्। यसले माओवादीलाई सरकारको नेतृत्वमा दाबी गरी एमालेलाई राष्ट्रपति पद प्रस्ताव गर्ने बाटो सजिलो बनिसकेको छ। आगामी फागुनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनेछ र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेछ। त्यसअघि लिखित सहमतिका आधार तयार भए प्रचण्डले एमालेसँग गठबन्धन गर्न सक्नेगरी छलफल अघि बढेका छन्।
यसैको पृष्ठभूमीमा नै माओवादी महासचिव देवप्रसाद गुरुङ एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास गएका थिए। उनले बाम गठबन्धनसहितको सरकार बन्न सक्ने सन्देश लिएर पुगेका थिए।
उच्च स्रोतले भन्यो,‘सरकार गठनका विषयमा गठबन्धनमा समस्या देखिने निश्चित जस्तो छ। एमालेसँग सहकार्य गरी अघि बढ्न सक्ने सम्भावना देखिएका कारणले माओवादी अहिले सरकारको नेतृत्वका लागि कसरत गरिरहेको छ।’
प्रचण्डले सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्री आफैं बन्ने घोषणा गर्दै आएका छन्। कांग्रेसले प्रधानमन्त्रीमा आलोपालोको सहमति गरी पहिलो अवधि प्रचण्डलाई दिनुपर्ने माओवादीको अडान छ।
तेस्रो र निर्णायक शक्ति बनेका कारण प्रचण्डले प्रधानमन्त्री पदमा च्याँखेदाऊ थापिरहेका छन्। गठबन्धनभित्र किचलो भएको खण्डमा एमालेलाई साथमा लिने उनको तयारी रहेको छ।
निर्वाचन आयोगले विहीबार प्रतिनिधि सभाका सदस्यको विवरण शितल निवासमा बुझाईसकेको छ। अब संसद अधिवेशन आह्वानको समय आइसकेका कारण नयाँ सरकार कसको बन्ला भन्ने चासो सर्वत्र छ। प्रमुख तीन दलले नै सरकारको नेतृत्वमा चासो देखाएका छन्। कांग्रेसले सरकार गठन गर्न नसकेको खण्डमा एमालेले अग्रसरता लिने बताइए पनि प्रचण्डको रुचीका कारण सरकार गठनमा केही समय राजनीतिक चलखेल बलियो हुने स्पष्ट छ।