काठमाडौं – नेकपा एमालेका नेता भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश निहित स्वार्थ बोकेर आएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै रावलले यो अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरे ।
उनले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा सङ्क्रमणकालीन प्रधानमन्त्री भएकोले यस्तो बेलामा देशको अहित हुने गरी अध्यादेश ल्याउनु गैर संवैधानिक कदम भएको बताए । उनले छैटौँ पटक प्रधानमन्त्री हुनको लागि निहित स्वार्थबाट प्रेरित भएर देउवाले यस्तो अध्यादेश जारी गर्ने काम गरेको आरोप लगाए ।
उनले यो कदमले देउवाको विगतको तितो कुराको पुनरावृत्ति भएको महशुस हुने पनि बताए । मुलुकी फौजदारी कार्यविधि संहिता धेरै लामो समय लगाएर, कानुनविद्धहरूको बिचमा छलफल भएर जारी गरेको कानुन भएकाले नयाँ संसद् आउन लागेको अवस्थामा यसरी अध्यादेश ल्याउनु गलत हुने उनको भनाई छ ।