विद्यार्थीहरु पढ्नका लागि बाहिर जानुपरेको भन्दै कामचलाउ प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त-Sutra News

विद्यार्थीहरु पढ्नका लागि बाहिर जानुपरेको भन्दै कामचलाउ प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त

बिहिबार, २९ मंसिर २०७९

बिहिबार, २९ मंसिर २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध मिलाई उत्पादित जनशक्तिलाई देशभित्रै टिकाउने र रोजगारीको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।



काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा आज उहाँले गुणस्तरीय उच्च शिक्षाको खोजीमा हजारौँ विद्यार्थी दिनहुँ विदेशिने गरेको प्रसङ्ग उल्लेख गर्दै सो कुरा बताउनुभएको हो । यसले एकातिर मुलुकलाई चाहिने प्रतिभाशाली र मेधावी जनशक्ति पलायन भइरहेको छ भने अर्कातिर शिक्षाको लागि बर्सेनि अर्बौँ डलर मुलुकबाट बाहिरिने गरेको उहाँको भनाइ थियो ।

यस सन्दर्भमा काठमाडौँ विश्वविद्यालयले केही हदसम्म विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई स्वदेशमा उनीहरूले पढ्न चाहेको विषयमा गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्ने अवसर मिलाई प्रतिभा पलायन हुनबाट रोकिरहेकामा उहाँले प्रशंसा गर्नुभयो । साथै उहाँले विदेशी विद्यार्थीहरूलाई समेत आकर्षित गरी विश्व शैक्षिक रङ्गमञ्चमा नेपाललाई चिनाउन सहयोग पु¥याइरहेको बताउँदै विश्वविद्यालय परिवारलाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “यस विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूलाई स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आगामी दिनमा थप गुणस्तरीय र विश्वसनीय बनाउँदै जानेछ भन्ने मैले अपेक्षा लिएको छु ।”

उहाँले यस विश्वविद्यालयले विगत तीन दशकदेखि मुलुकमा गुणस्तरीय, व्यावहारिक तथा प्राविधिक उच्च शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक, सामाजिक विकासमा योगदान पु¥याउँदै आएको बताउनुभयो । “यस विश्विद्यालयबाट उत्पादित र दीक्षित गुणस्तरीय जनशक्तिले देशभित्र मात्र होइन विदेशमा समेत विभिन्न महत्वपूर्ण संस्थाहरूमा आबद्ध भई उत्कृष्ट सेवा पु¥याउँदै आएको छ, जुन हामी सबैका लागि गर्वको विषय हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

विश्वविद्यालय भनेको विद्यार्थीहरूमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उनीहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उद्घाटित गरी समाज र देशको हितका लागि उपयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र भएको बताउँदै उहाँले विश्वविद्यालय राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । विश्वविद्यालय अनुसन्धान र नवप्रवर्तनको संवाहक बन्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले त्यसमा काठमाडौँ विश्वविद्यालय देशकै उत्कृष्ट र गुणस्तरीय विश्वविद्यालयको सूचीमा अग्रपङ्क्तिमा रहेकामा खुसी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले विश्वविद्यालयले परम्परागत विषयका साथै मुलुकभित्र लुकेर रहेका खनिज पदार्थको पहिचान र विकास, ग्रिन हाइड्रोजन उत्पादन, जलविद्युत्को स्तरीय उत्पादन, वातावरणमैत्री सहर व्यवस्थापन, वनौषधीय जडीबुटीको खोज, अनुसन्धान र प्रवद्र्धन, जलवायु परिवर्तन न्यूनीकरणलगायतका विषयमा पनि शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ध्यान दिनेछ भन्ने अपेक्षा लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट