काठमाडौं – भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बेलायत र नेपाल सरकारबीच जारी वार्ताअन्तर्गत तेस्रो चरणको छलफल भएको छ । बिहिबार लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा भएको भेटवार्तामा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको हो । वैठकमा भूपूगोर्खाहरूको औषधि उपचार, शिक्षा, रोजगारीलगायत कल्याणकारी विषयमा छलफल भएको जनाएको छ ।
वार्तामा सहभागी भूतपूर्व गोर्खा प्रतिनिधि मेजर जुदबहादुर गुरुङले दुवै पक्षबीच प्राविधिक स्तरमा वेल्फेयर र पेन्सनका विषयमा महत्वपूर्ण छलफल भएको बताए । उनले बिहिबारको छलफल सकारात्मक भएको र वार्ता उपलब्धिपूर्ण हुने आशा बढेको बताए ।
वार्ताका क्रममा बेलायती अधिकारीहरुले ‘पोलिसी’ हरुका लागि थप अध्ययन गर्नुपर्ने भएपनि ‘पोलिसी इम्प्लिमेन्टेसन’ का बारेमा रहेका कमजोरीहरु सच्याउन कुनै समस्या नरहेको बताएको मेजर गुरुङले बताए। वार्तामा सहभागी लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले पनि वार्ता सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिए । उनले पनि पेन्सनको विषयमा निकै गहन र विस्तृत छलफल भएको बताए ।