![sobita](https://www.sutranews.com/wp-content/uploads/2022/12/sobita-1.jpg)
![विवादको घेरामा स्वतन्त्र पार्टीकी सांसद सोबिता, बलात्कार प्रकरणबारे फेरि के भनिन्?](https://www.sutranews.com/wp-content/uploads/2022/12/sobita-1.jpg)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम बलात्कारका विषयमा चार बर्षअघि असंवेदनशील अभिव्यक्ति दिएका कारण विवादमा तानिएकी छन्।
चार बर्षअघि दिएको अन्तरवार्तामा गौतमले ‘बलात्कार सामान्य हो। यसले महिलाको शरीलाई कुनै हानी नोक्सानी हुँदैन’ भनेकी थिइन्। यति मात्र होइन बलात्कारको बाहनामा डलर भित्राउने काम पनि भइरहेको गौतमले सोही अन्तरवार्तामा भनेकी थिइन्।
जुन भिडिओ सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ र उनलाई अधिकारकर्मीलगायतले आलोचना गर्दै प्रश्न गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेता नै विवादमा आइरहेका बेला काठमाडौं–२ बाट निर्वाचित गौतम पनि आलोचनाको पात्र बनिरहेकी छन्।
प्रतिनिधि सभा निर्वाचनमा उनको व्यापक चर्चा भएको थियो। स्वतन्त्र पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएकी उनले पूर्वसभामुख ओनसरी घर्तीलगायत एमाले र राप्रपाका हेवीवेट उम्मेदवारलाई पराजित गरेकी थिइन्।
सामाजिक मुद्दामा कतिपय औपचारिक कार्यक्रममा पनि उनलाई प्रवचनका लागि बोलाइने गरिएको थियो। तर अधिकारकर्मीले अहिले सार्वजनिक भएको भिडिओका बारेमा तारन्तार प्रश्न गर्न थालेपछि संसद भवन छिर्नुअघि नै गौतम विवादमा तानिएकी हुन्।
उनले आफ्नो उक्त अन्तरवार्ताको बचाऊ नगरी माफी मागे पनि सञ्जाल प्रयोगकर्ताले प्रश्न गर्न छाडेका छैनन्।
महिला अधिकारक्षेमा कार्यरत मोहना अन्सारीले उक्त भिडिओ सेयर गर्दै ट्वीटरमा प्रश्न गरेकी छन्,‘बलात्कार सामान्य हो तर खुट्टा कटिनु ठूलै रहेछ। बलात्कृतको शरिर साध्य हुन्छ र बलात्कार हुनु सामान्य हो भन्ने सासंद केही दिनमा संसद प्रवेश गर्दैछिन। सोच्नुस् कस्तो भविष्य हुने छ बालिकाको? न्यायको मांग गर्नु डलर ल्याउनु रहेछ। उहाँको सोच यस्तो छ भने के आशा गर्ने?’
त्यसो त यो भिडिओ चुनावअघि सार्वजनिक हुँदा के हुन्थ्यो होला भन्ने जिज्ञासाका साथ सालोक्यले लेखेका छन्,‘नवनिर्वाचित सांसद सोविता गौतमको एउटा भिडिओ क्लिप भाइरल भएछ। ३ वर्षअघिको भिडिओ धन्न कसैले चुनाव अगाडि भाइरल गरेनन्, नत्र परिणाममै असर पर्थ्यो कि!’
गौतमले उक्त अन्तर्वार्ताबारे ट्वीटरमा स्पष्टीकरण दिएकी छन्। ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ। अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ’, गौतमको प्रष्टोक्ति छ।
अहिले आफ्नो अध्ययन, अनुभवले आफ्नो बुझाइ परिष्कृत भएकोले अहिले उक्त उदाहरण प्रयोग नगर्ने उल्लेख गरेकी छन्।
तर उनको अभिव्यक्तिको आलोचना यतिसम्म भयो कि शनिबार नेपालमा फेसबुकको टे«न्डिङमा नै आएकी छन्।