![congress kabhre](https://www.sutranews.com/wp-content/uploads/2022/12/congress-kabhre.jpg)
![काभ्रे कांग्रेसमा गुटगत प्रतिशोध, जो तिर्थ लामाको ‘एम्बुसमा’ परे](https://www.sutranews.com/wp-content/uploads/2022/12/congress-kabhre.jpg)
काठमाडौं– नेपाली कांग्रेस काभ्रे जिल्ला समितिमा गुटीय आधारमा प्रतिशोधको शिकार बनाउन सिफारिस भएको छ। अर्थात् एक समूहको नेतृत्व गरेकाले अर्का समूहका केन्द्रीय सदस्यसम्मलाई कारबाही गर्न सिफारिस भएको छ।
मंसिरमा सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा अन्तरघात गरेको भन्दै जिल्ला सभापति तिर्थ लामाले एक क्षेत्रीय सभापतिसहित दुई केन्द्रीय सदस्यलाई कारबाहिका लागि सिफारिस गरेका छन्।
केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गरिएको छ।
प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति तीर्थ लामा पराजित गर्न भूमिका खेलेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।
हुमागाँई र आचार्य फरक–फरक समूहका नेता हुन् भने तिर्थ लामा र गणेश लामा मध्य कसको बर्चश्व हुने भन्ने प्रतिस्पर्धा पहिलेदेखि नै थियो।
आचार्य र गणेश लामा निर्वाचन प्रचार अभियानमा एक दिन पनि मत माग्न नहिँडेको बरु एमालेका गोकुल बास्कोटाको पक्षमा खुलेको भन्ने अभियोग लगाइएको छ।
केन्द्रीय सदस्य आचार्यले आफू प्रदेशभरको जिम्मेवारीमा रहेकाले व्यस्त भएको भन्दै पार्टी र गठबन्धनका उम्मेदवारलाई मत नमागेको आरोप लगाइएको छ।
प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेलले क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको आरोप लगाइएको छ।
खरेल स्थानीय तहको निर्वाचनमा पाँचखाल नगरपालिकामा निर्वाचित मेयर पनि हुन्।
नेपाली कांग्रेसमा गणेश लामा भने बिजयकुमार गच्छादार निकट हुन्। गच्छादार फोरम लोकतान्त्रिकमा हुँदा लामा पनि सोही पार्टीका केन्द्रीय सदस्य थिए। कांग्रेससँग एकीकरण भएपछि उनी फर्केका थिए।
महाधिवेशनमा केन्द्रीय समितिमा निर्वाचित गणेश लामा र जिल्ला सभापति तिर्थ लामाबीच कसले काभ्रेमा प्रभाव राख्ने भन्ने होड पहिलादेखि नै हुँदै आएको थियो।
यता आचार्य भने संस्थापनइतर समूहमा खुलेका थिए। उनी डा. शेखर कोइराला समूहमा सक्रिय छन्। हुमागाँईको स्थानमा आचार्यले प्रतिनिधि सभाको टिकटका लागि दाबी गरेका थिए।