राष्ट्रपति र प्रधानमन्त्रीमा कांग्रेसकै दाबीले झस्कियो माओवादी, गठबन्धन भत्किए एमाले अगाडि बढ्ने-Sutra News

राष्ट्रपति र प्रधानमन्त्रीमा कांग्रेसकै दाबीले झस्कियो माओवादी, गठबन्धन भत्किए एमाले अगाडि बढ्ने

आइतबार, ३ पौस २०७९

आइतबार, ३ पौस २०७९

काठमाडौं– निर्वाचनपछि को प्रधानमन्त्री बन्ने भन्ने सहमति नगरी चुनावी मैदानमा उत्रिएको सत्ता गठबन्धनमा प्रमुख दुई घटकमा दूरी देखिएको छ।



सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावपछि शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने अग्रिम सहमति भएको थिएन।

यसैले कांग्रेसले देउवा प्रधानमन्त्री बन्ने दाबी गरिहरेको छ भने प्रचण्ड स्वयमले आफू नै सरकारको नेतृत्वमा पुग्ने बताइरहेका छन्। यहि कारण पनि यी दुई दलबीच दूरी बढेको छ।

अर्कोचाहिँ राष्ट्रपतिमा पनि कांग्रेसको दाबीले माओवादी केन्द्र झस्किएको छ। स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने छलफलमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा जुटेका छन्।

राष्ट्रपतिमा पनि दाबी गर्नुमा कांग्रेसको तर्कचाहिँ माओवादी भन्दा तीन गुणा ठूलो पार्टी बन्नु रहेको छ। प्रवक्ता प्रकाशशरण महतले भनेका छन्,‘हामी तीन गुणा ठूलो पार्टी भएका कारण राष्ट्रपति पदमा हाम्रो दाबी स्वभाविक हुन्छ।’

राजनीतिक प्रणालीमा गैरराजनीतिक नेतृत्व हुने कुरा अवधारणागत रूपमै त्रुटिपूर्ण हुने भन्दै माओवादी महासचिव देव गुरुङले त्यस्तो प्रस्तावमा आफ्नो दल सहमत नहुने बताइसकेका छन्। उनले यो परिवर्तन माओवादीको नेतृत्वमा आएका कारण पनि राष्ट्रपतिमा आफ्नो दलको दाबी स्वभाविक हुने संकेत दिएका थिए।

‘यो व्यवस्थाको लागि सबैभन्दा बढी त्याग र बलिदान गरेको त माओवादी नै हो। यसको मुख्य हिस्सेदार वा यसको मुख्य प्रस्तावक त गिरिजाप्रसाद कोइराला र प्रचण्ड नै हो। त्यस कारण मुलुकको सिस्टममाथि चुनौती पैदा भएको अवस्थामा नेतृत्व गर्न सक्ने व्यक्ति नै अघि बढ्ने हो’, महासचिव गुरुङले भनेका थिए।

कांग्रेस र माओवादीबीचमा दूरी बढे पनि हालसम्म गठबन्धन कायम रहेका कारण सरकार गठनमा एमाले अग्रसर नहुने उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्। गठबन्धनले चुनावमा बहुमत नजिकको सिट जीतेका कारणले पनि एमाले सरकार गठनको विषयमा अगाडि बढेको छैन।

तर गठबन्धन भत्किएको खण्डमा भने एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वा बहुमत पुग्ने खण्डमा अन्य दलका नेताको नेतृत्वमा सरकार गठनको कसरतचाहिँ गर्ने स्पष्ट देखिन्छ।

कांग्रेस सभापति देउवा गठबन्धनको सरकार बने कसको नेतृत्व हुने भन्नेबारेमा खासै केही बोलेका छैनन्। कांग्रेस संसदीय दलको निर्वाचन नभएसम्म उनी यस विषयमा खुल्नेछैनन्।

संसदीय दलको निर्वाचनमा देउवासँग महामन्त्री गगन थापा लड्ने भएका छन्। उक्त निर्वाचनमा जीत निकालेपछि मात्र देउवाले सरकार गठनका बारेमा बोल्ने अनुमान गरिएको छ।

यद्यपि गठबन्धनका कांग्रेस र माओवादीका नेताले एकअर्कालाई सशंकित गराउनका लागि एमालेका नेताहरूसँगको भेटलाईचाहिँ तिव्र बनाएका छन्। माओवादी महासचिव गुरुङलगायतले ओलीलाई भेटिसकेका छन् भने कांग्रेसका प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतले पनि ओलीसँग भेट गरेका खबरहरू सार्वजनिक भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट