के लियोनेल मेस्सीले आर्जेन्टिनालाई विश्वकप जिताउन सक्छन् वा के किलियान एम्बाप्पेले फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकप ट्रफी दिलाउँछन्?
आर्जेन्टिनाले लुसेल रङ्गशालामा फ्रान्ससँग विश्वकपको फाइनल खेल खेल्न गइरहेको छ।
पैँतीस वर्षका मेस्सीले कीर्तिमानी सात पटक विश्वको उत्कृष्ट खेलाडी अर्थात् बेलोन डी ओर जितेका छन्।
तर उनले विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतिस्पर्धामा उपाधि उचाल्न पाएका छैनन्।
“मानिसहरूले फ्रान्स सबैको रोजाइमा परेको बताइरहेका छन् तर हामीसँग अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट खेलाडी छन्,” आर्जेन्टिनाका गोलरक्षक एमिलिआनो मार्टिनेजले भने।
“हामी हाम्रो विपक्षी उत्कृष्ट हो भन्ने सुन्न चाहन्छौँ किनभने हामी आफूलाई कोहीभन्दा उत्तम वा निम्न महसुस गर्दैनौँ।”
“तर मैले सधैँ भन्ने गरेको छु, हामीसँग अहिलेसम्मकै सर्वोत्कृष्ट खेलाडी छन्। र, राम्रो प्रतिरक्षा गर्न सक्यौँ भने हामी हाम्रो लक्ष्यमा पुग्ने धेरै अवसरहरू छन्।”
सन् १९९८ मा आफ्नो टोलीले विश्वकप जित्दा कप्तान रहेका फ्रान्सका व्यवस्थापक डिडिए डेसाँले चार वर्षअघि रुसमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए।
उनले भने, “मलाई थाहा छ आर्जेन्टिना, विश्वका धेरै मानिसहरू र केही फ्रान्सेलीहरूले पनि लियोनेल मेस्सीले विश्वकप जितुन् भन्ने अपेक्षा राखिरहेका छन्। तर हामी हाम्रो लक्ष्य पूरा गर्नका लागि आफ्नोतर्फबाट सबैथोक गर्छौँ।”
मेस्सीले आर्जेन्टिनालाई सन् १९८६ यता पहिलो पटक विश्वकप जिताउन सक्लान्?
मेस्सी र एल्भारेज
विश्वकपको फाइनलमा यो प्रतियोगितामा हालसम्म सबैभन्दा धेरै गोल प्रहार गरेका दुई खेलाडीहरू आमानेसामने हुनेछन्।
मेस्सी र एम्बाप्पे दुवैले पाँचपाँच गोल गरेका छन् र उनीहरू गोल्डेन बुटका दाबेदार हुन्।
फ्रान्सका ओलिभयर जिरोँ र आर्जेन्टिनाका जुलियन अल्भारेज दुवैले चारचार गोल गरेका छन्।
सन् २०१४ मा ब्रजिलमा सम्पन्न विश्वकपको फाइनलमा आर्जेन्टिनालाई पुर्याउन मेस्सीले मुख्य भूमिका निर्वाह गरेका थिए।
तर जर्मनीका मारियो गोत्सले थप गरिएको समयपछि गरेको एक मात्र गोलका मद्दतले जर्मनी १-० ले विजयी भयो।
तर प्यारिस साँ जर्माँका खेलाडी कतारमा आर्जेन्टिनी विश्वकप अभियानका नायकका रूपमा उदाएका छन्।
पहिलो खेलमा आश्चर्यजनक ढङ्गले साउदी अरेबियासँग २-१ ले पराजित हुनुअघि मेस्सीले सुरुमा नै पाएको पेनाल्टीको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए।
मेक्सिको विरुद्धको महत्त्वपूर्ण खेल आर्जेन्टिनाले २-० ले जित्दा पनि उनले गोल गरेका थिए।
पोल्यान्डलाई २-० ले हराएपछि आर्जेन्टिना समूह सीको शीर्ष स्थानमा उक्लिएको थियो।
अन्तिम १६ को खेलमा अस्ट्रेलियाविरुद्ध आफ्नो टोली २-१ ले विजयी हुँदा पनि उनले गोल गरेका थिए।
आर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्डस विरुद्ध ८२ मिनेटसम्म २-० को अग्रता लिदाँ खेल उसकै नियन्त्रणमा थियो तर डच टोलीले थपिएको सहितको समयमा दुई गोल हानेर खेललाई बराबरीमा ल्याएको थियो।
पेनाल्टीसम्म पुगेको उक्त खेलमा गोलरक्षक मार्टिनेजले दुईवटा प्रहार रोकेका थिए।
त्यसपछि सेमिफाइनलमा क्रोएशियालाई पराजित गर्ने क्रममा मेस्सीले एक र म्यान्चेस्टर सिटीका एल्भारेजले दुई गोल गरेका थिए।
मेस्सी र एम्बाप्पे दुवै पीएसजी क्लबबाट खेल्छन्
आर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ।
सन् १९७८ मा आफ्नै गृहमैदान र सन् १९८६ मा मेक्सिको विश्वकप जितेको उक्त टोलीले आइतवार तेस्रो सफलताको खोजी गर्नेछ।
“म भावुक बनिसेकेको छु किनभने उनीहरूले भित्रबाटै सबैकुरा दिइसकेका छन्,” आर्जेन्टिनाका व्यवस्थापक लियोनल स्कलोनीले भने।
उनले थपे, “आशा गरौँ हामीले उपाधि जित्नेछौँ र त्यसो भएन भने पनि उनीहरूले गर्व गर्नुपर्छ किनभने यो खुसी हुने क्षण हो।”
फ्रान्सको तयारीमा स्वास्थ्यको अड्चन
दोस्रो पटक विश्वकपको ट्रफी उचाल्ने धोको बोकेका एम्बाप्पेले फ्रान्सलाई फाइनलसम्म ल्याइपुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
अस्ट्रेलियाविरुद्ध ४-१ अन्तरले जित हासिल गर्दा उनले १ गोल गरेका थिए भने एक खेल अगावै अन्तिम १६ मा स्थान सुनिश्चित गर्ने क्रममा डेनमार्कविरुद्ध २ गोल गरेका थिए।
त्यसपछि डिडिए डेसाँले केही खेलाडीलाई आराम दिए र ट्युनिसिया विरुद्ध १-० ले हार खेपे पनि उनीहरू समूह डीको विजेता बने।
प्रि क्वार्टर फाइनलमा पोल्यान्डविरुद्ध ३-१ ले जित हासिल गर्दा एम्बाप्पेले पुनः दुई गोल प्रहार गरेका थिए।
क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डविरुद्धको खेलमा फ्रान्सले अग्रता कायम गरेको थियो तर ह्यारी केनले पेनाल्टीको मद्दतले खेललाई बराबरीमा ल्याए।
तर फ्रान्सका ओलिभयर जिरोँले फ्रान्सका लागि अर्को गोल थपे।
दोस्रो पटक पाएको पेनाल्टीको अवसर केनले चुकाउँदा फ्रान्स २-१ ले विजयी भएको थियो।
विश्वकपमार्फत नयाँ शक्तिका रूपमा उदाएको मोरक्कोलाई फ्रान्सले सेमिफाइनलमा २-० ले पराजित गरेको थियो।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ आफ्नी पत्नीसहित विश्वकप फाइनल हेर्न कतार पुगेका छन्
यो सातवटा प्रतियोगितामा उनीहरूको चौथो विश्वकप फाइनल हो।
उनीहरूले सन् १९९८ र सन् २०१८ मा उपाधि जितेका थिए भने सन् २००६ मा फाइनलमा पराजित भएका थिए।
तर उनीहरूको तयारीमा केही खेलाडीहरूको अस्वस्थताले बाधा पुर्याएको छ।
प्रशिक्षक डेसाँ भन्छन्, “रुघाखोकीको लक्षणसहित हाम्रोमा केही समस्या देखिएको छ। हामी सचेत हुन खोजिरहेका छौँ ताकि यो अरूमा नफैलियोस् र सबै खेलाडीको प्रतिरोधी प्रणालीमा समस्या नदेखियोस् भनेर ठूलो प्रयास गरिरहेका छन्।”
उनले टोलीले सबै आवश्यक सावधानी अपनाएको पनि बताए।
प्रतियोगिताका तथ्य
विश्वकपमा फ्रान्स र आर्जेन्टिनाको भेट ३ पटक भएको छ। सन् १९३० र सन् १९७८ को दुवै समूह चरणका खेल आर्जेन्टिनाले जित्यो। तर सन् २०१८ को विश्वकपको नक आउट चरणको खेलमा फ्रान्स ४-३ ले विजयी भएको थियो।
आर्जेन्टिनाले आफ्नो छैटौँ विश्वकप फाइनल खेलिरहेको छ। उनीहरूभन्दा धेरै फाइनल खेल्ने देश जर्मनी मात्रै हो। आर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा उपाधि जितेको थियो भने सन् १९३०, १९९० र २०१४ मा पराजित हुन पुगेको थियो।
आफ्नो पहिलो खेलमा पराजित भएर पनि विश्वकप उपाधि जित्ने सन् २०१० को विजेता स्पेनपछि आर्जेन्टिना पहिलो टोली बन्नसक्छ।
मेस्सी आर्जेन्टिनाकातर्फबाट सर्वाधिक गोल गर्ने खेलाडीले प्राप्त गर्ने गोल्डेन बुट जित्ने तेस्रो खेलाडी बन्न सक्छन्।
सन् १९९८ यता फ्रान्स चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो। यो त्यसयता कुनै देशभन्दा दोबरले बढी हो।
फ्रान्स लगातार दुईवटा विश्वकप जित्ने तेस्रो देश बन्ने दाउमा छ। यसअघि इट्लीले सन् १९३४ र सन् १९३८ अनि ब्रजिलले सन् १९५८ र सन् १९६२ को विश्वकप जितेको थियो। बीबीसी