जनताहरुले हामीबाट धेरै अपेक्षा गरेका छन्- आरजु राणा-Sutra News

जनताहरुले हामीबाट धेरै अपेक्षा गरेका छन्- आरजु राणा

आइतबार, ३ पौस २०७९

आइतबार, ३ पौस २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नेपालको संविधानको रक्षा गर्नु र संविधानका अधिकारलाई कार्यान्वयन गर्न लाग्नु जनप्रतिनिधिको दायित्व भएको बताउनुभएको छ ।



नवनिर्वाचित कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले लामो सङ्र्घष र त्यागपछि जारी भएको संविधानलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

देश र जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको उल्लेख गर्दै उहाँले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सबैले पदीय कर्तव्यमा क्रियाशीलता बढाउनुपर्ने बताउनुभयो । कांग्रेस नेत्रीहरू मङ्गलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, नोना कोइराला, शैलजा आचार्य लगायतले गर्नुभएको लामो सङ्घर्ष र त्यागबाट मुलुकमा महिला समावेशी अधिकार स्थापित भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै नेत्री डा राणाले नवनिर्वाचित जनप्रतिनिधिले आगामी दिनमा क्रियाशीलता बढाउन र थप प्रभावकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा तयारी थाल्नुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई पार्टीका वरिष्ठ नेत्रीहरूले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट