![CPN-uml-Party-768x537 uml](https://www.sutranews.com/wp-content/uploads/2022/08/CPN-uml-Party-768x537-1.jpg)
![यो अवस्थामा एमालेले बनाउन सक्छ सरकार](https://www.sutranews.com/wp-content/uploads/2022/08/CPN-uml-Party-768x537-1.jpg)
प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दोस्रो ठुलो दल बनेको नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन आफूले कुनै पहल नगरेको जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो।
एमाले प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेले तत्काल सरकार गठनका लागि कुनै पहल नगरेको र वर्तमान सत्ता गठबन्धन दलहरूले नै पहल गर्ने भएकाले यो विषयमा मौन रहेको बताए। ‘ठुलो दल कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको छ तर अवस्था र परिस्थिति आए एमालेले पनि पहल गर्नेछ’, गुरुङले भने।
यतिबेला वाम गठबन्धनको सरकार बनाउने चर्चा चलिरहे पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) वर्तमान सत्ता गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा छ। राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरिसकेपछि नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्रीमा आफ्नो पार्टीको दाबी नभएकाले कांग्रेस र माओवादी केन्द्र दुईमध्ये एकले प्रधानमन्त्री लिएर सरकार बनाउनुपर्ने बताए। ‘सरकार वर्तमान सत्ता गठबन्धन दलकै बन्छ, प्रधानमन्त्रीमा हाम्रो दाबी छैन। राष्ट्रपति वा सभामुखको विषय आए हामीले साथीहरूलाई पठाउनेछांै।
शक्ति सन्तुलनका हिसाबले कांग्रेसकै नेतृत्वमा सरकार बनाउँदा राम्रो हुन्छ, त्यसमा अन्य पदहरू मिलाउनुपर्छ’, खतिवडाले भने। नेकपा एसले शक्ति बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद भए आफ्नो पार्टीले पनि सरकारको नेतृत्व गर्न सक्ने जनाएको छ।
सन्दर्भमा विभिन्न दलसँग भइरहेका वार्ताबारे छलफल भएको छ। आइतबार बसेको पदाधिकारी बैठकमा सरकार गठनका विषयमा गठबन्धनभित्र र बाहिरका दलहरूसँग भइरहेका औपचारिक र अनौपचारिक वार्ताबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी गराए।
लोकतान्त्रिक वाम गठबन्धनमा आबद्ध भएर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको माओवादी केन्द्रले निर्वाचनपछि गठबन्धनका तर्फबाट सत्ताको नेतृत्व आफूले गर्न पाउनुपर्ने बताउँदै आएको छ। सो दलले सकेसम्म गठबन्धनभित्रबाटै र परिस्थितिअनुसार गठबन्धनबाहिरका दलहरूसँग मिलेर सरकार निर्माण गर्ने विषयमा खुला रहेको बताउँदै आएको छ। माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा कुनै ठोस निर्णय नभएको बताए।
बैठकमा अहिलेको परिस्थितिबारे आ–आफ्ना धारणा राख्ने काम भएको उनले जानकारी दिए। आचार्यले निर्वाचनपछि सबै दलले सरकार निर्माणबारे छलफल गरिरहेको र माओवादी केन्द्र पनि यस विषयमा विभिन्न दलसँग छलफलमा रहेको बताए। ‘अहिले सबै दल सरकार निर्माणलगायत विषयमा सबैसँग छलफलमा छन्।
आफैंले संख्या पुर्याएर सरकारको नेतृत्व गर्न सक्नेले आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल गरिरहेका छन् भने आफ्नो संख्या नपुग्नेहरू सरकारमा सहभागिताका लागि छलफल चलाइरहेका छन्। माओवादी केन्द्रले पनि यस विषयमा विभिन्न दलसँग छलफल गरिरहेको छ,’ उनले भने। सचिव आचार्यले माओवादी केन्द्र अहिले पनि गठबन्धनको विकल्प खोज्न नहुने पक्षमै रहेको बताए। कांग्रेस नेतृत्वको सत्ता गठबन्धमार्फत निर्वाचनमा होमिएको माओवादी केन्द्रले निर्वाचनपछि सरकार सञ्चालनको चाबी आफ्नो पार्टीको हातमा आउने अनुमान गरेको थियो। नागरिक दैनिक