काठमाडौं– महोत्तरी रामगोपालपुर–५ का डा. पंकज चौधरी दाइजो कम दिएको निहुँमा पत्नी नेहा चौधरीलाई यातना दिएको आरोपमा अहिले प्रहरी हिरासतमा छन्। पंकजका बुवाआमा र दिदीले पनि यातना दिएको उजुरी परेपछि प्रहरी उनीहरूको खोजीमा छ।
महोत्तरीका प्रहरी प्रमुख (एसपी) कृष्ण पंगेनीले उनीहरू भारतमा लुकेको भन्ने खबर आएको र पक्राउ गरी कानुनी दायरामा ल्याउने बताएका छन्। सुत्रन्युजसँग उनले भने,‘सीमावर्ती भारतमा भागेर लुकेको भन्ने खबर आएको छ परिवारका सदस्यलाई झिकाउन भनेका छौं हैन भने पक्राउ गर्न भारतीय प्रहरीसँग पनि समन्वय हुनेछ।’
न्यायको लडाईमा रहेकी नेहा चौधरी अहिले काठमाडौं आइपुगेकी छन्। त्यसअघि उनले महोत्तरीमा नै आन्दोलन गरी सासु ससुरलाई पनि पक्राउ गर्नका लागि माग गरेकी थिइन्। सडक आन्दोलन पनि भएको थियो।
गत फागुनमा रामगोपालपुर ५ का पंकज चौधरी र नेहाबीच विवाह भएको थियो। नेहाका परिवारले दाइजो र विवाहमा करिब करोडौं खर्च गरे। तर, पनि दाइजो पुगेन भन्दै नेहालाई परिवारबाट यातना दिन थालिएको थियो।
यो बीचमा उनका पति पंकज चौधरीले अदालतमा डिभोर्स मुद्दा दिएका छन्।
सहनै नसक्ने यातना र दाइजो माग भएपछि उनले प्रहरीसमक्ष गई पंकजविरुद्ध गएको कात्तिक ४ मा घरेलु हिंसाको निवेदन दिएकी थिइन्। चार दिनपछि प्रहरीले छलफलका लागि पंकज र नेहालाई बोलायो। पंकजले प्रहरीसमक्ष नै नेहालाई राख्न सक्दिन, सम्बन्ध विच्छेद गर्छु भनेका थिए।
नेहाले सम्बन्धबिच्छेद चाहेकी थिइनन्। उनले पंकजको खुट्टा ढोगेर बिन्ती बिसाइन्। पंकजले प्रहरीकै सामु नेहालाई कुटपिट गरे, कुनै हालतमा घर नलैजाने बताए।
न्यायको खोजीमा राजधानी आएकी नेहाले सुत्रन्युज र सुत्रटिभीमा आफूले भोगेका र भोगीरहेका दुखका बारेमा खुलेकी छन्। उनलाई ज्येठाज्युले डेढ करोड लिएर भाईलाई छाड्नका लागि प्रस्ताव गरेको पनि खुलाएकी छन्।
उनी भन्छिन्,‘मेरो समाज र समुदायमा इज्जत कहाँ बाँकी हुने भयो। मेरो जीन्दगी भनेको डेढ करोडको होइन, म अझै पनि गल्ती स्वीकार गरेको खण्डमा पंकजसँग नै जीन्दगी बिताउन चहान्छु।’
नेहा र पंकजको प्रेमपछि मागी विवाह भएको थियो। काठमाडौंमा घर किनिदिनका लागि पंकजले भनेको तर आफ्नो माइतीले सक्दै नसक्ने विषयबाट नै किचकिच सुरु भएको थियो। तर ५१ लाख लगानी गरी माइती पक्षले पंकजलाई डाक्टर पढाएका थिए।
नेहाले के–के भोगिन्? अहिले के गरिरहेकी छन्? आखिर उनी के चहान्छिन्? उनको बयान यहाँ हेर्नुहोस्।