कांग्रेसमा होला त पुस्तान्तरण? संसदीय दलको नेतामा देउवाबिरूद्ध गगन थापाको रोचक भिडन्त-Sutra News

कांग्रेसमा होला त पुस्तान्तरण? संसदीय दलको नेतामा देउवाबिरूद्ध गगन थापाको रोचक भिडन्त

मंगलबार, ५ पौस २०७९

मंगलबार, ५ पौस २०७९

काठमाडौं– पार्टीभित्र पुस्तान्तरणको बलियो पैरवी गरिरहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाविरूद्ध बुधबार मैदानमा उत्रिँदैछन्।



दुई दिनको सघन छलफलपछि संस्थापनइतरका नेता डा. शेखर कोइरालासँगको सहमतिपछि थापालाई देउवासँग मैदानमा उतार्ने सहमति बनेपछि निर्वाचन कार्यक्रमअनुसार अब कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा दुई उम्मेदवार हुनेछन्।

देउवा अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्दैछन् भने थापा युवा पुस्ताको प्रतिनिधिका रुपमा मैदानमा हुनेछन्। थापालाई कांग्रेस संस्थापनइतरसहित अधिकांश युवा नेताको समर्थन रहेको छ। रोचकचाहिँ उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि बलियो साथ रहेको छ।

संसदीय दलको नेताको निर्वाचनमा डा. कोइराला थापाको प्रस्तावकका रुपमा उभिनेछन्। बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचन समय तोकिएको छ।

थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए। निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए। प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद रहेका छन्।

महामन्त्रीमा पराजित भएका युवा नेता प्रदीप पौडेलले खुलेर थापाको पक्षमा नबोले पनि कांग्रेसले परिवर्तन चाहेको स्पष्ट भनेका थिए। उनको यो संकेत देउवाको निरन्तरता हुनुपर्छ भन्नेहरूको विपक्षमा देखिन्छ।  यद्यपि अब कांग्रेसले नयाँ मार्गचित्र कोर्दै महामन्त्री थापालाई प्रधानमन्त्रीका दाबेदारका रुपमा निर्वाचित गराउँछ कि देउवाको निरन्तरतामा नै रमाउँछ भन्नेचाहिँ बुधबार मध्य दिनसम्ममा स्पष्ट हुने नै छ

संसदीय दलको निर्वाचनमा तिनै ८९ जना सांसदले भोट हाल्न पाउँछन्। त्यसमध्ये ५० जनाभन्दा बढी सांसदहरू देउवा पक्षका रहेको बताइन्छ। देउवा पक्षका एकजना सांसदका भनाइमा हालसम्म उनको पक्षमा कुल ५४ सांसद खुलिसकेका छन्।

त्यस्तो अवस्थामा देउवाइतर समूहमा रहेका सांसदको संख्या ३५ हुने देखिन्छ। तर थापा पक्षका नेताहरूका दाबीमा देउवाको विपक्षमा रहेका सांसदको संख्या ४०–४१ जना रहेको छ।

थापाले नयाँ कांग्रेसको वकालत गरिरहेका कारण सांसदले मत बदल्न सक्ने अनुमान गरेका छन्। त्यसो हुँदा थापाले झिनो मतले भए पनि दलको नेता जीत्ने आशाचाहिँ राखेका छन्।

के कांग्रेस परिवर्तन चहान्छ?

संस्थापन पक्ष बलियो भए पनि यो बेला कांग्रेसभित्र परिवर्तनको खडेरी रहेको टिप्पणी भइरहेका थिए। सभापति देउवा ५ पटकसम्म प्रधानमन्त्री भइसकेका छन् भने दोस्रो कार्यकालका लागि पार्टीको नेतृत्व गरिरहेका छन्।

महाधिवेशनमा सर्वाधिक मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थापाले संसदीय चुनावमा पनि ‘सरप्राइज’ नतिजा आउन सक्ने आँकलन गरेका छन्। महाधिवेशनमा देउवातिर खुलेका कतिपय युवा नेताले पनि यस पटक थापालाई नै सहयोग गर्न सक्ने ठानिएको छ।

महामन्त्रीमा पराजित भएका युवा नेता प्रदीप पौडेलले खुलेर थापाको पक्षमा नबोले पनि कांग्रेसले परिवर्तन चाहेको स्पष्ट भनेका थिए। उनको यो संकेत देउवाको निरन्तरता हुनुपर्छ भन्नेहरूको विपक्षमा देखिन्छ।

यद्यपि अब कांग्रेसले नयाँ मार्गचित्र कोर्दै महामन्त्री थापालाई प्रधानमन्त्रीका दाबेदारका रुपमा निर्वाचित गराउँछ कि देउवाको निरन्तरतामा नै रमाउँछ भन्नेचाहिँ बुधबार मध्य दिनसम्ममा स्पष्ट हुने नै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट