काठमाडौं– ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको ‘राजनीतिक भाग्य’मा धक्का लागिसकेको थियो।
संस्थापनइतरको नेताका रुपमा त्यसबेला रहेका पौडेल निर्वाचन जीतेको खण्डमा संसदीय दलको नेता बन्न सक्ने स्थिति पनि थियो। तर बामपन्थी गठबन्धनको झन्डै दुई तिहाई बहुमत आएको देखेर पौडेल सभापति शेरबहादुर देउवालाई सर्वसम्मत नेता बनाउन राजी भए।
प्रकाशमान सिंह देउवासँग संसदीय दलको नेताको चुनावमा मैदानमा उत्रिए तर पराजित भएका थिए। पौडेलको आम निर्वाचनको पराजयसँगै विस्तारै उनको संस्थापनइतरको नेताको मान पदवीमा पनि धक्का लाग्न थाल्यो।
१४औं महाधिवेशनसम्म आइपुग्दा संस्थापनइतरको नेताका रुपमा डा. शेखर कोइरालाको उदय भयो। पौडेललाई आराम गर्न भन्दै कोइराला सभापतिका उम्मेदवार भए। पौडेलले त्यसबेला देउवालाई सघाए।
प्रधानमन्त्री बन्ने ठूलो आकांक्षा राखेका पौडेलले यस पटक निर्वाचन जीते पनि सपना साकार हुने सम्भावना अब सकिएको छ। किनकी संस्थापनबाट सभापति देउवा नै संसदीय दलको चुनावी मैदानमा उत्रिने निर्णय हुँदा उनी ब्याक भइसकेका छन्। संस्थापनइतरबाट भने महामन्त्री गगन थापा मैदानमा उत्रिने निर्णय भयो।
तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले अगाडि बढाएका पौडेलको कांग्रेसको यात्रा उपसभापति र बरिष्ठ नेतामा नै सीमित हुने देखियो भने सरकारमा कार्यबाहक प्रधानमन्त्री भन्दा माथि उक्लिन सकेनन्।
शान्ति सम्झौतापछि बनेको गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी शान्ति तथा पुनःनिर्माण मन्त्री बनेका थिए। कोइराला भारत भ्रमणमा गएका बेला उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो।
एक हिसाबले पौडेललाई कांग्रेसमा बरिष्ठ नेता हुँदा पनि अभागी भनी टिप्पणी गरिन थालिएको छ। अबको कांग्रेसमा अर्को पुस्ताले हस्तक्षेप गर्न थालिसकेको छ।
तर, कांग्रेस स्थापनामा पौडेलको जति योगदान छ उनले त्यति नै अवसर भने नपाएका होइनन्।
तनहूँ क्षेत्र नं.२बाट पहिलो संविधानसभामा विजयी भएका थिए। उनले २०४८को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२बाट विजय हासिल गरेका थिए।
उनले एक पटक संसदीय दलको नेता बन्ने अवसर पाए पनि प्रधानमन्त्री बन्ने सौभाग्य पाएनन्। ०६४पछि माओवादी अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बन्दा पौडेल कांग्रेसको संसदीय दलको नेता थिए। सो संविधानसभाको कार्यकालमा पौडेल १७ पटकसम्म प्रधानमन्त्रीका लागि व्यवस्थापिकामा नाम दर्ता गराउँथे तर बहुमत प्राप्त गर्न असफल हुन्थे।
तत्कालिन एमाले नेता माधवकुमार नेपालको राजीनामापछि पौडेलले प्रधानमन्त्रीका लागि अभ्यास गरेका थिए। तर पौडेलको विकल्पमा प्रचण्डले झलनाथ खनाललाई प्रधानमन्त्रीमा निर्वाचित गराइदिए।
बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको थियो। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक–पटक गरी १३ वर्ष जेल परेका छन्। प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए।
प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने नेताचाहिँ हुन्।
हालै भएको प्रतिनिधि सभा निर्वाचनमा पौडेल तनहुँ क्षेत्र नं १ बाट २५,३१८मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्। प्रधानमन्त्री नपाए पनि राष्ट्रपति पदमा उनको सपना सोझिएको बताइन्छ। सत्ता समीकरण कस्तो बन्ला भन्ने चर्चाबीच अब उनको राजनीतिक भविष्यले कुन राजमार्ग समात्ला केही महिनामा स्पष्ट हुने नै छ।