संसदीय दलमा देउवा पराजित हुन सक्ने बिहानको खोजी-Sutra News

संसदीय दलमा देउवा पराजित हुन सक्ने बिहानको खोजी

मंगलबार, ५ पौस २०७९

मंगलबार, ५ पौस २०७९

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा गर्न सभापति शेरबहादुर देउवा र युवा नेता गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्।



संस्थापनबाट बुढा नेताको प्रस्ताव र समर्थन पाएका देउवाविरुद्ध थापालाई युग परिवर्तनको स्वीकार गरेका डा. शेखर कोइरालाको प्रस्ताव र युवाहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको समर्थन मिलेको छ।

उम्मेदवारी दर्ता गरेपछि आशावादी देखिएका थापाले सभापति देउवालाई उम्मेदवारी फिर्ता लिएर इतिहास लेख्नका लागि सुझाव दिएका थिए।

रोचकचाहिँ के देखिएको छ भने संसदीय दलको दाबी गरेका रामचन्द्र पौडेल देउवाको प्रस्तावक छन् भने उत्तराधिकारीका रुपमा उदय गरिसकेका उपसभापति पूर्णबहादुर खड्का समर्थक रहेका छन्।

यसैगरी महाधिवेशनमा सभापति लडेका कोइराला गगनका प्रस्तावक छन् भने फरक दोस्रो राउन्डमा देउवालाई सहयोग गरेका एक महामन्त्री शर्मा र अर्का महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल समर्थक छन्।

‘कांग्रेसभित्र देखिएको अघिल्लो पुस्ता र अर्को पुस्ताको ध्रुवीकरणको संसदीय निर्वाचन रोचक मात्र होइन निक्कै फरक र नयाँ देखिनेछ’, एक नेता भन्छन्,‘बुधबार विहान देउवाको पराजयको बिहानको खोजी कुनै हार होइन, पुस्तान्तरणको कसीका रुपमा पर्खिरहेको छ।’

बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचन समय तोकिएको छ।

भिडियोमा पनि हेर्नुस् 

प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद रहेका छन्।

संसदीय दलको निर्वाचनमा तिनै ८९ जना सांसदले भोट हाल्न पाउँछन्। त्यसमध्ये ५० जनाभन्दा बढी सांसदहरू देउवा पक्षका रहेको बताइन्छ। देउवा पक्षका एकजना सांसदका भनाइमा हालसम्म उनको पक्षमा कुल ५४ सांसद खुलिसकेका छन्।

त्यस्तो अवस्थामा देउवाइतर समूहमा रहेका सांसदको संख्या ३५ हुने देखिन्छ। तर थापा पक्षका नेताहरूका दाबीमा देउवाको विपक्षमा रहेका सांसदको संख्या ४०–४१ जना रहेको छ।

थापाको पक्षमा आशा गरिएका चन्द्र भण्डारी, उपसभापति धनराज गुरुङलगायतका नेता खुलेका छन्। जो कांग्रेसभित्रका सृजनात्मक र परिवर्तनकामी प्रतिपक्षीका रुपमा स्थायी परिचयधारी हुन्। सांसदको अंकगणितले के भन्छ भन्ने प्रश्न भन्दा पनि परिवर्तनका पक्षमा कति सांसद उभिनेछन् भन्ने सन्देश मूख्य हुने निश्चितप्रायः छ।

ज्येष्ठ नागरिकको उमेरको मापदण्डलाई पनि १२ बर्षले उछिनेका देउवाले अबको देशको नेतृत्व गर्ने कि एउटा प्रभावशाली योग्यतामा निपूर्ण भएको युवाले अबको युग हाँक्ने भन्ने प्रश्नको उत्तर संसदीय दलको निर्वाचनले दिनेछ।

गगन थापाले उम्मेदवारी दर्तापछि स्पष्ट भनेका छन्,‘विश्वप्रकाश, धनराज, प्रदीपलगायतका युवा नेता र म सँगै उभिएका छौं। अब पार्टीमात्र होइन देश पनि बदल्छौं।’ अहिलेको कांग्रेस बदल्दै संसदीय दलको निर्वाचनमा थापाले बाजी मारेको खण्डमा कांग्रेसले एक तहको काँचुली राम्रैसँग फेर्नेछ र ५ औंपटक प्रधानमन्त्री बनिसकेका देउवालाई आराम दिँदै केही बर्षका लागि पार्टीको अभिभावकीय जिम्मेवारीमा सीमित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट