![prachanda-n-nemwang2020-08-06-02-57-19-768x402](https://www.sutranews.com/wp-content/uploads/2022/12/prachanda-n-nemwang2020-08-06-02-57-19-768x402-1.jpeg)
![प्रचण्ड नेम्वाङबीच वामपन्थी सरकार बनाउन छलफल](https://www.sutranews.com/wp-content/uploads/2022/12/prachanda-n-nemwang2020-08-06-02-57-19-768x402-1.jpeg)
आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । अगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत सुरु भइसकेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार गठन’bout छलफल भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान नेम्वाङ खुमलटार पुगेका थिए ।
सत्ता गठबन्धनका दलबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्रीलगायत प्रमुख पद बागबन्डा विषयमा सहमति जुट्न नसकिरहेका बेला एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डसँग भेटघाट गर्नुलाई अर्थपूर्ण हेरिएको छ । भेटका क्रममा दुई नेताबीच सरकार गठनको विषयमा नै कुराकानी भएको बताइएको छ ।
एमाले र माओवादी दुवै पार्टी स्रोतले प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिएर अगाडि बढ्ने प्रस्तावमा छलफल जारी छ । स्रोतका अनुसार प्रचण्ड र नेम्वाङबीचसमेत यही विषयमा छलफल भएको छ । ‘माओवादीले प्रधानमन्त्री, एमालेले राष्ट्रपति लिएर अरू महत्वपूर्ण पदमा समेत भागबन्डा गरेर सहमतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो । वाम गठबन्धन गरेर जाँदा नै कम्युनिस्टलाई जोगाउन सकिन्छ,’ एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव छ ।
प्रधानमन्त्री र राष्ट्रपतिमा भागबन्डा गर्ने विषय प्राथमिकतामा
सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन् । सत्ता गठबन्धनमा सरकार गठनको विषयमा कुनै निष्कर्ष ननिस्किरहेको अवस्थामा एमाले भने गठबन्धनको समीकरण फेर्ने रणनीतिमा छ । यसअघि केही दिन अगाडि माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
यस्तै, एमाले नेताहरू विष्णु पौडेल, रघुवीर महासेठ, महेश बस्नेतलगायतले माओवादी अध्यक्ष प्रचण्डसँग भेटका थिए । नेम्वाङले माओवादीलाई प्रधानमन्त्री दिएर एमालेलाई राष्ट्रपति दिनेगरी नयाँ शक्ति बाँडफाँटमा जोड दिँदै आएका छन् । राजधानी दैनिकमा खबर छ।