नबिल बैंक लिमिटेडले पुस २९ गते ३८औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ४ गतेको सञ्चालक समितिको बैठकले सिल्भर ओक व्याङ्क्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारा, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले बैंक र बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड, एनबिबिएल सेक्यूरिटिज लिमिटेडको गत आर्थिक वर्ष २०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण लगाएतका एकिकृत वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले यस वर्ष १८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर समेत ११ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उल्लेखित प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन सञ्चालकको निर्वाचन समेत गर्ने छ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।