कांग्रेसमा आर्जु र मञ्जुको रजगजः पतिको ‘पावर’मा शक्ति केन्द्रमा मोज-Sutra News

कांग्रेसमा आर्जु र मञ्जुको रजगजः पतिको ‘पावर’मा शक्ति केन्द्रमा मोज

बुधबार, ६ पौस २०७९

बुधबार, ६ पौस २०७९

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा र मञ्जु खाँणले राज्य शक्तिलाई आफूखुसी प्रयोग गरेको आरोप लागेको छ। कांग्रेस राजनीतिमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु र गृहमन्त्री बालकृष्ण खाँणपत्नी मञ्जु पतिको शक्तिका कारण उदाएका छन्।



राज्यशक्तिमा बालुवाटारबाट डाडुपुन्यु आरजुले चलाउने गरेकी छन् भने गृहमन्त्रालयभित्र मञ्जुको वर्चश्व चल्ने गरेको सतहमा चर्चा भएको छ। बुधबार मात्र कांग्रेस संसदीय दलका नेताको चुनावमा पनि भएको सहमतिविपरित विवादीत हुने काम यी दुवै जनाबाट भएको थियो।

मतदानस्थल कांग्रेस संसदीय दलको कार्यालयमा मोबाइल लैजाने तर तस्बिर नखिच्ने सहमति भएको थियो। तर आरजु र मञ्जुको प्रत्यक्ष निगरानीमा मतदान गरेको तस्बिर खिचिएको थियो।

सहमतिविपरित आरजु र मञ्जुाले मतदान  गरिरहेका ९ जना सांसदको तस्बिर खिचेका थिए। उनीहरुले तस्बिर खिचेपछि संस्थापन इतरपक्षका सांसदहरुले आपत्ती जनाएका थिए। देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री गगन थापाले नै आपत्ति जनाएका थिए। कांग्रेस नेता जीवन परियारले सहमति विपरित तस्बिर खिचेपछि केही समय विवादको अवस्था सृजना भएको बताए।

भिडिओ रिपोर्ट हेर्नुहोस्

त्यसो त यी दुई पात्रलाई समानुपातिक सूचीमा राखेका बेला पनि विवाद भएको थियो। कांग्रेसले तयार पारेको प्राथमिक सूचीमा आरजु र मञ्जुको १ र २ नम्बरमा नाम राखिएको थियो। जसको तिव्र आलोचना भएपछि केही तल राखिए पनि दुवै समानुपातिक सांसदमा निर्वाचित भएका छन्।

कांग्रेसका उच्च अधिकारीका अनुसार सत्ता गठबन्धनको सरकार बन्ने अवस्थामा यी दुवै जना शक्तिमा नै रहनेछन्। देउवा फेरि प्रधानमन्त्री बन्ने तरखरमा छन् भने चुनावमा पराजित भए पनि खाँणपत्नी मञ्जुले अवसर पाउन सक्ने आँकलन गरिएको छ।

‘पति गृहमन्त्री भएका कारण प्रहरी संगठनमा मञ्जुको बोलबाला बलियोसँग नै हुने गरेको छ। गृह मन्त्रालयमा उनको हस्तक्षेपले प्रहरी अधिकारीदेखि प्रशासकसम्म दिक्क छन्’, उच्च स्रोतले भन्यो,‘त्यहाँमाथि कांग्रेस केन्द्रीय सदस्य र सांसद नै भएपछि त कतिसम्म हस्तक्षेप हुन्छ होला?’

आरजु राणा त यसअघि नै विवादमा तानिँदै आएकी थिइन्। स्थानीयदेखि प्रतिनिधि र प्रदेश सभाको चुनावका बेला डडेल्धुरा, कैलालीमा दिएको अभिव्यक्तिका कारण आरजु सर्वाधिक विवादमा तानिइन्। उनले फ्रि भिसा, फ्रि टिकटमा युवालाई वैदेखिक रोजगारीमा पठाउने बयानबाजी सर्वाधिक विवादीत बन्यो। उनको यहि भाषालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि समात्दा उनी पनि विवादमा तानिए।

आरजुले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई नजिताउने पालिकालाई केन्द्रबाट बजेट नै नदिने भनी गरेको अर्को बयानबाजी झन् विवादीत बन्यो। ओली सरकार गिराउँदै सर्वोच्च अदालतले शेरबहादुर देउवाको नेतृत्वमा परमादेश गरी सरकार बनाउन भनेपछि गठित मन्त्रिपरिषदमा आरजुले व्यावसायीक नाता रहेका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गराएको भनी विवाद भएको थियो।

कांग्रेस र संसदीय राजनीतिमा फेरि यी दुई महिलाको उदयसँगै गठबन्धनको सरकार बने झनै विवाद आउने आँकलन गरिएको छ। यद्यपि राजनीतिमा एक वा दुई पटक गरिएको जबरजस्त शक्तिको दुरुपयोगले आलोचनाको कसीमा बस्न बाध्य हुनुपर्छ। आरजु र मञ्जु यहि नियतिका पात्र बनिरहेको कांग्रेसकै कतिपय नेता बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट