देउवालाई गगन थापाको चेतावनीले प्रचण्ड प्रधानमन्त्री बन्ने बाटो बन्द, अब के हुन्छ?-Sutra News

देउवालाई गगन थापाको चेतावनीले प्रचण्ड प्रधानमन्त्री बन्ने बाटो बन्द, अब के हुन्छ?

बुधबार, ६ पौस २०७९

बुधबार, ६ पौस २०७९

काठमाडौं– संसदीय दलको नेतामा पराजित भएका कांग्रेस महामन्त्री गगन थापाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको चेतावनीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बाटो बन्द हुने देखिएको छ।



सत्ता गठबन्धनमा आलोपालो गर्नेगरी देउवा छैठौं पटक प्रधानमन्त्री बन्ने तयारीमा छन्। तर, थापाले संसदीय दलको निर्वाचनमा पराजय स्वीकार गर्दै देउवालाई भनेका छन्,‘कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नेछु। पहलकदमी पनि लिन्छु। तर, अँध्यारा कोठामा आलोपालोको सहमति मान्य हुँदैन पछि धोका दियो नभन्नुहोला।’

थापाको यो चेतावनीले दुई वटा महत्व राख्छ। देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको तर विश्वासको मत लिनुअघिसम्म खुलासा भएन भने पहिलो कार्यकालका निम्ति प्रधानमन्त्री बन्नेले दुई बर्ष सरकार चलाउन पाउने निश्चित हुन्छ।

२ बर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने र देउवा नै पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दाबी गरिरहेका कारण गगन पक्षले विश्वासको मतमा सघाउन सक्छ। तर, प्रचण्ड पहिलो कार्यकालका लागि प्रधानमन्त्री बन्ने अवस्था भएमा गगन समूहले विश्वासको मत दिने सम्भावना कम देखिन्छ।

भिडिओमा पनि हेर्नुहोस्

थापाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ र पहलकदमी लिन्छु भन्नुको कारण पनि यहि नै हुनेछ। गगनका पक्षमा खुलेका २५ मत नै अबको प्रधानमन्त्रीका लागि निर्णायक हुने स्पष्ट देखिएको छ।

अर्कोचाहिँ आलोपालो सहमति गरी दोस्रो कार्यकालका प्रचण्डले रोजेको खण्डमा थापा समूहले मत नै नदिने निर्णय गर्न सक्ने सम्भावना पनि उनको चेतावनीले देखाएको छ। ‘यो संसदीय दलको निर्वाचनमा जीत हारको विषय मात्र रहेन, संख्या यकिन भएको छ र ठूलो बहुमत नल्याउँदा सरकार गठन प्रक्रिया नै प्रभावित हुने स्पष्ट देखिएको छ’, कांग्रेसका एक नेता भन्छन्,‘गगनले देउवालाई दिएको चेतावनीको गहिरो र दूरगामी असर पार्न सक्ने अर्थपूर्ण छ।’

देउवा र प्रचण्डबीच आलोपालो सरकार चलाउने सहमतिका आधारमा नै चुनावमा गठबन्धन बनेको संकेत प्रचण्डले गरेका थिए। यसैकारण पनि अब बन्ने सरकारको नेतृत्व आफैंले गर्ने भनी उनले विभिन्न मञ्चमा भाषण गरी हिँडिरहेका छन्।

तर थापाको अहिलेको चेतावनीले कांग्रेसको संसदीय दल वा केन्द्रीय समितिमा देउवाले आलोपालोको विषय औपचारिक रुपमा पारित नगराई प्रधानमन्त्री बन्ने अवस्थामा असहयोग हुनसक्ने स्पष्ट खाका देखिएको छ।

गगन थापाले कांग्रेसलाई संस्थागत निर्णय गराउने र ट्रयाकमा ल्याउने लयलाई स्थापित गराउने संकेत देखाएका छन्। उनले संसदीय दलमा पराजित भएपछि यहि सरकारमा मन्त्री नबने घोषणा मात्र गरेका छैनन् आगामी समयमा संसदीय दलमा नै उम्मेदवार बन्ने निधो समेत गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट