बालेन प्रशासनमा नयाँ लफडाः के हो महानगर प्रहरीका सई चुडाल र एसपी पाण्डेबीचको झगडा?-Sutra News

बालेन प्रशासनमा नयाँ लफडाः के हो महानगर प्रहरीका सई चुडाल र एसपी पाण्डेबीचको झगडा?

बुधबार, ६ पौस २०७९

बुधबार, ६ पौस २०७९

काठमाडौं– मेयर बालेन्द्र साह (बालेन) प्रशासनमा अहिले नयाँ लफडाले चर्चा पाएको छ। बालेनले महानगर प्रहरी प्रमुखमा ल्याएर डोजर अभियानमा सक्रिय पारेका एसपी राजु पाण्डेविरूद्ध सई लोकनाथ चुडालले बयानबाजी दिइरहेका छन्।



उनले पदबाट राजीनामा दिएपछि पाण्डेको भ्रष्टाचार काण्डको भण्डाफोर गरिरहेका छन्। उनले मातहतका कर्मचारीलाई अनावश्यक रुपमा एसपी पाण्डेले अत्याचार गरेको आरोप लगाउँदै राजीनामा दिएका हुन्।

चुडालले भने,‘हाम्रा समस्या बुझ्ने कुरा पर जाओस्। समस्या लिएर समाधान खोज्न पुग्यो भने त धम्की दिने गर्छन्।’ उनले आफूले पाएको पीडाका बारेमा रुँदै बयान दिएका भिडिओ सतहमा आएका छन्।

कुनै कर्मचारीले थोरै समय आराम गर्दा लात्ताले हान्ने, घोप्टो पारेर कुट भनी सेटमा नै आदेश दिने गरेको बयानबाजी गरेका चुडाल प्रश्न गर्छन्,‘के हामीले स्टाफलाई कुट्दै ल्याउने हो? यहि हो तरिका?’

‘एकजना इन्स्पेक्टर सा’ब हड्डीको समस्याले गर्दा दुईटै खुट्टा टेक्न सक्नुहुन्न। अनि नेतृत्वले उहाँलाई ’तँ सक्दैनस् भने राजीनामा दे’ भनी पाण्डेले अमानवीयता देखाएको बताउँदै चुडाल भन्छन्,‘२९ बर्षको करिअरमा मैले यस्तो हाकिम पहिलो पटक देखेको हो।’

भिडियोमा पनि हेर्नुस् 

यस विषयमा मेयर बालेन साहको केही धारणा आएको छैन भने महानगरको आधिकारिक वक्तव्य पनि आएको छैन। बरु चुडालको राजीनामा स्वीकृत भइसकेको छ।

आफूले कुनै पनि यातना नदिएको बताउँदै एसपी पाण्डेले चुडालका आरोपको खण्डन गरेका छन्। उनी भन्छन्,‘हामी प्रहरीको समस्या कहाँ कसलाई भन्ने हो? त्यो केही नगर्ने, चेन अफ कमान्डमा नबस्ने गरेको सुन्दै आएको छु।’

पाण्डेका अनुसार चुडाल काम गर्न अल्छी र चेन अफ कमान्डमा नबसी मनपरी भन्दै बाहिर हिँडेका छन्। त्यसबारे आफूले चाल पाइसकेको बताउँदै उनले भने,‘एउटा प्रक्रिया हुन्छ त्यसमा नचल्ने व्यक्तिसँग मेरो विवाद भएको छैन। उ राम्रो अभिनय गर्न जान्दो रहेछ।’

महानगर प्रमुख बालेनले कार्यभार सम्हालेपछि नगर प्रहरी प्रमुखबाट धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई ल्याएका थिए। काठमाडौं महानगरपालिकाका ५ जना नगर प्रहरी उपरीक्षक (एसपी) मध्य पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएपछि बालेनले डोजर अभियानलाई तिव्रता दिएका थिए।

अहिले पनि पाण्डे डोजर लिएर अनामनगरका अवैधानिक संरचना भत्काउनका लागि आफूसहितको टोली लिएर खटिइरहेका छन्। पाण्डे पार्किङ गरेका सवारीलाई जबरजस्ती उठाएको प्रकरणमा विवादमा तानिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट