नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औँ साधारणसभा सम्पन्न भएको छ । आज बिहान प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औँ साधारणसभाले मेगा बैंक लिमिटेडसँग मर्जर गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।
विशेष प्रस्तावमा मेगा बैंकको १०० कित्ता शेयर बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता शेयर हुनेगरी मर्जर हुने जनाइएको छ । मर्जरपश्चात बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ ।
राष्ट्र बैंकको मर्जरको नीतिलाई अनुशरण गर्दै इन्भेष्टमेन्ट बैंकले आव २०७३/७४ मा एस डेभलपमेन्ट बैंक लिमिटेड, आव २०७५/७६ मा जेबिल्स फाइनान्स लिमिटेड र आव २०७७/७८ मा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभिसकेको छ ।
इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादर पाँडेले बैंकहरुमध्ये एक मेगा बैंक नेपाल लिमिटेडसँग मिति २०७९ जेठ २७ गते मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर गरी नेपाल राष्ट्र बैंकबाट मिति २०७९ असार २२ गते सैद्धान्तिक सहमति भएको जानकारी दिए । उनका अनुसार दुवै बैंक मर्ज गरी छिटै एकीकृत कारोबार सुरु गर्न आवश्यक कार्यहरु द्रुतगतिमा अगाडि बढाइएको छ ।
पटकपटक अन्तर्राष्ट्रिय ‘बैंक अफ द इयर’ पुरस्कार जितेको नेपाल इन्भेष्टमेन्ट बैंकको मेगासँग मर्जर भएपछि ५६ अर्ब पूँजी, ३ खर्ब ३० अर्ब ऋण लगानी र ३ खर्ब ६० अर्ब निक्षेप रहने बताइएको छ । मर्जरपछि बैंकको तीन सयभन्दा बढी शाखा सञ्जाल तथा २७९ वटा एटिएम बुथ र करिब ३ हजार ३१५ कर्मचारी हुनेछन् ।
बैंकको सञ्चालक समितिको ५७७औँ बैठकले बैंकको मुनाफाबाट चुक्ता पूँजीमा ७ प्रतिशत नगद लाभांश एक अर्ब २८ करोड, १५ लाख २७ हजार ८९३ रुपैंयाँ तथा ४ प्रतिशत बोनस शेयर ७३ करोड २३ लाख एक हजार ६५३ रुपैयाँ गरी कुल ११ प्रतिशत लाभांश दुई अर्ब एक करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ ।