‘द सर्पेन्ट’ अर्थात् शोभराजलाई छाड्न आदेश दिने न्यायाधीशहरू को–को हुन्, किन गरे यस्तो फैसला?-Sutra News

‘द सर्पेन्ट’ अर्थात् शोभराजलाई छाड्न आदेश दिने न्यायाधीशहरू को–को हुन्, किन गरे यस्तो फैसला?

बिहिबार, ७ पौस २०७९

बिहिबार, ७ पौस २०७९

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बिकिनी किलर चार्ल्स शोभराजलाई छाड्नका लागि किन आदेश दिए भन्ने खुलदुली सर्वत्र छाएको छ।



दुवै न्यायाधीशले ‘तत्काल छाड्न’ मात्र होइन १५ दिनभित्र उनको देश पठाउन पनि भनेका छन्।

सन् २००३ मा काठमाडौंमा पक्राउ परेका थिए शोभराज। सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो।

अदालतबाट भएको आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न भनिएको छ।

आफूलाई थुनामा राखिनु गैरकानुनी भएको भन्दै शोभराजले बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेर निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतबाट बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएको प्रवक्ता विमल पौडेलले जानकारी दिए।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन्।

सन् १९९७ मा रिहा हुनुअघि उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए।

अठहत्तर वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन्।

सुन्धारास्थित केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले अदालतले आदेशको बोधार्थ जेलमा पनि पठाएको जानकारी दिए।

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा ‘निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकारअनुकूल नदेखिएको’ भन्दै रिहा गर्न भनेको छ।

हाल ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको फैसलामा भनिएको छ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ।

नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए।

हाल उनले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ।

शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।

ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।

तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ।

सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनीबारे ‘द सर्पेन्ट’ नामक शृङ्खलाबद्ध वृत्तचित्र बनाएको थियो। भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज पछिल्लो समय ‘सज्जन, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिले’ जस्तो व्यवहार गर्ने गरेको कारागारमा खटिएका थिए।

यो फैसला विवादीत नहुनेगरी आएको छ। किनभने शोभराज जेलमा नै कयौं पटक मुटुको समस्याले थलिएका थिए। एक पटक त उनको शल्यक्रिया नै भइसकेको छ।

आगामी दिनमा अन्य देशमा गरेका अपराधमा उनीमाथि के कस्तो कानुनी प्रक्रिया वा कारबाही होला त्यो अलग विषय भयो तर नेपालमा उनले जन्मकैद कसुरअनुसार सजाय भुक्तान गरिसकेका छन्।

यसैबीच कारागार प्रशासनले शोभराजलाई छाड्ने चाँजोपाँजो सुरु गरेको छ। उनलाई कारागारमुक्त गरी सिधा फ्रान्स डिपोट गरिने बताइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट