काठमाडौं– सत्ता गठबन्धनमा प्रधानमन्त्रीको पहिलो कार्यकालका लागि आफूलाई समर्थन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अल्टिमेटम दिएपछि तरङ्ग छाएको छ।
१० गतेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पुग्नेगरीको समर्थनसहित प्रधानमन्त्रीको एकल नाम प्रस्ताव गर्न राष्ट्रपति कार्यालयले दलहरूलाई भनेको थियो।
विहीबार प्रतिनिधि सभाका सदस्यहरूले सपथ लिनासाथ सरकार गठन प्रक्रियाका लागि सत्ता गठबन्धनमा छलफल सुरु भएको थियो। सोही छलफलमा प्रचण्डले देउवालाई अल्टिमेटम दिएका थिए।
सभापति देउवाले आफू नै पहिलो कार्यकालका लागि प्रधानमन्त्री बन्ने अभ्यासमा छन्। उनले प्रचण्डलाई कन्भिन्स गर्न खुमलटारसम्मै दूतहरू परिचालन गरिसकेका छन्।
प्रचण्डले शुक्रबार बेलुकासम्म आफूलाई समर्थन गर्नका लागि भनेका थिए। तर देउवालाई पहिलो कार्यकालमा समर्थन गर्न उनका दूतका रुपमा खुमलटार पुगेका नेता प्रकाशमान सिंहले प्रचण्डलाई कन्भिन्स गर्न खोजेका थिए।
भिडिओ रिपोर्ट हेर्नुहोस्
कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा पहिलो कार्यकालको समर्थन नदिए विकल्पको खोजी हुने पनि बताइएको छ। प्रचण्डले सिंहलाई सोही सन्देश दिएर बालुवाटार फर्काएका छन्।
पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादीबीच संघर्ष चलिरहेको छ।
गठबन्धनमा रहेका अन्य दलले पनि प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्रीमा स्वीकार गर्ने संकेत गरिसकेका छन्। यसकारण पनि कांग्रेस दबाबमा छ।
माओवादीको समर्थनबिना कांग्रेसले सरकार गठन गर्न नसक्ने अवस्था रहेको छ। तेस्रो दल रहेका कारण सरकारको चाबी आफूसँग नै रहेको प्रचण्डले बताउँदै आएका थिए। यसकारण कांग्रेसले पहिलो कार्यकालमा प्रचण्डलाई नै प्रधानमन्त्री स्वीकार्नुको विकल्प गठबन्धनमा छैन।
कांग्रेसले अडान नछाडि देउवा प्रधानमन्त्रीको पहिलो कार्यकालका लागि जिदमा रहे माओवादीले एमालेसँग संवाद थाल्ने तयारी पनि गरेको छ। एमाले र माओवादीका नेताबीच यसबीचमा औपचारिक र अनौपचारिक छलफल भइरहेका छन्।
कतिपयले बामपन्थी सरकार नै बनाउनुपर्ने राय दिँदै आएका छन्। तर गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने एमालेसँगको सहकार्यमा खुसी छैनन्। त्यसैले गठबन्धनकै सरकार गठन गर्दा प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिनका लागि उनले लविङ गरिरहेका छन्।
देउवा पनि आफ्नै पार्टीका नेताका कारण पहिलो कार्यकाल छाड्न सक्ने अवस्थामा छैनन्। संसदीय दलको निर्वाचनपछि संस्थापनइतरले कांग्रेस नेतृत्वबाहेक विकल्पमा नजानका लागि चेतावनी दिँदै आएको छ। कांग्रेस महामन्त्री गगन थापाले आलोपालोका नाममा बन्द कोठामा गरेको सहमति पार्टीले बोक्न नसक्ने र त्यो आधिकारिक नहुने पनि बताइसकेका छन्। यदि प्रचण्ड पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा देउवाका लागि स्वीकार्य भए विश्वासको मत लिने बेला थापालगायतको असहयोग हुने अर्को त्रास छ।
यसैकारण पनि प्रचण्डलाई फकाउनका लागि देउवादूतहरू प्रत्यक्ष र परोक्ष रुपमा सक्रिय रहेका छन्।