![rabii](https://www.sutranews.com/wp-content/uploads/2022/11/rabii.png)
![तिव्र महत्वकांक्षामा रवि लामिछाने, सीईओदेखि अन्य कर्मचारी भर्ती गर्ने घोषणाको अर्थ के हो?](https://www.sutranews.com/wp-content/uploads/2022/11/rabii.png)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले शुक्रबार गरेका तीन घोषणाले धेरैको ध्यान तानेको छ।
वैदेशिक रोजगारीमा रहेका व्यक्तिका बारेमा सञ्चारमाध्यममा मुद्दा उठाएका कारण नै लोकप्रिय हुँदै सांसदसम्म बनेका उनले निर्वाचन क्षेत्र चितवन–२ मा स्थापना गर्न लागेको कार्यालयमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)देखि विभिन्न पदमा जागिर खुलेको घोषणा गरेका छन्।
सामान्यतया नेपालका राजनीतिक पार्टीका कार्यालयमा सचिव हुने गरेका छन्। निर्वाचन क्षेत्रमा नै कार्यालय खोली तिव्र महत्वकांक्षी अवसरको घोषणाचाहिँ रवि लामिछानेको नै सम्भवतः पहिलो हो।
उनले भनेका छन्,‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दख्खल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ।’
रविले सामाजिक सञ्जालमार्फत अगाडि भनेका छन्,‘हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो सीभि मलाई पठाउनु होला। म तपाईं लाई लिन आफैं एयर्पोर्ट आउँछु।’
भिडिओ रिपोर्ट
रविको यो घोषणा ट्रेन्डिङमा नै परेको छ। रविले मात्र होइन उनका पार्टीका प्रत्यक्षतर्फ जीत निकालेका ७ जना सांसदले पनि क्रमशः यहि परियोजनाअनुसार नै घोषणा गर्ने बुझिएको छ।
यति मात्र होइन रविको अर्को घोषणा पनि आएको थियो। उनले लेखेका थिए,‘वाचापत्रमा लेखे बमोजिम संसदीय योजना तर्जुमा बोर्डको अवधारणा अघि सारेको छु। सचिवालयका लागि ५ जना (वैतनिक), विषय बिज्ञहरु १० जना (बैठक भत्ता दिइने) र पालिका वडा तथा टोल प्रतिनिधिहरु (अवैतनिक) आव्हान गर्दछु।’
यो व्यवस्थापकीय कामलाई उनले समाज सेवाको रङ्गमा अगाडि बढाउनेगरी प्रचार गरेका छन्। उनले भनेका छन्,‘चितवनबाट प्रारम्भ गर्दै देशभरी यसैगरी काम गर्नेछौं। आउनुहोस् अब मिलेर काम गरौं।’
रविले यसका लागि एउटा मोबाइल नम्बर सार्वजनिक गर्दै ह्वाट्स एपमार्फत जनतासँग जोडिने वाचा गरेका छन्। आखिर रविको यो अभियानले राजनीतिमा के अर्थ राख्न सक्ला? भन्ने चासो सर्वत्र छ।
यो घोषणाको केन्द्रीय राजनीतिमा खासै अर्थ लगाउन सक्ने आधारचाहिँ भेटिएको छैन। उनको कार्यालय व्यवस्थापन र महत्वकांक्षी घोषणालाई सांकेतिक सम्बोधन गरेको भन्नेचाहिँ पुष्टि हुन्छ। जनतासँग जोडिने कुरामा रविको यो पहिलो कदम हुने भए पनि कार्यान्वयन पक्ष कस्तो हुनेछ भन्नेचाहिँ आम चासोको विषय बनिरहेको छ।
देशमा नेता जन्माउने भनी उनले टेलिभिजनमा रहँदा नै ‘द लिडर’ भन्ने कार्यक्रमको घोषणा गरेका थिए। तर, त्यसलाई कार्यान्वयन गर्न नसकेका उनी आफैं ‘लिडर’का रुपमा अगाडि आए। केही विवादीत रहेको उक्त कार्यक्रमका लागि उठाइएको रकमको प्रश्न एकातिर छँदै छ। रविले चुनावअघि उक्त रकम फिर्ता गर्ने बताएर एक तहमा विवाद साम्य पार्ने कोशिश गरेका थिए।
कतै अहिले गरेका घोषणाको कार्यान्वयन पक्ष गतिलो नहुँदा फेरि विवादमा तानिने हुन् कि यसको प्रभावकारीता देखाउनेछन्? योचाहिँ हेर्न बाँकी छ।