प्रचण्डसँग कुरा मिलेन: कम्युनिस्टबाहेकको सरकार बनाउने कांग्रेसको कसरत, बहुमत पुग्छ!-Sutra News

प्रचण्डसँग कुरा मिलेन: कम्युनिस्टबाहेकको सरकार बनाउने कांग्रेसको कसरत, बहुमत पुग्छ!

शनिबार, ९ पौस २०७९

शनिबार, ९ पौस २०७९

काठमाडौं– गठबन्धनबाट आलोपालो प्रधानमन्त्रीमा को पहिला बन्ने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नबनेपछि नयाँ अभ्यास सुरु भएको छ।



राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमत पुगेको दाबी गर्नका लागि दिएको समयसीमा सकिन लागेको पूर्वसन्ध्यामा कांग्रेसले कम्युनिस्टबाहेकको सरकार गठनको कसरत सुरु गरेको छ।

त्यसका लागि पहिलो चरणमा कांग्रेस सांसदका हस्ताक्षर संकलन सुरु भएको छ भने शनिबार दिउँसो बालुवाटारमा डाकिएको पनि छ। कांग्रेसबाहेक अन्य दलको हस्ताक्षर लिनका लागि मिहिन परामर्श भइरहेका छन्।

कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको सरकार बनाउने तयारी भएको छ।

कांग्रेसका ८९, रास्वपाका २०, जसपाका १२, जनमतका ६, लोसपाका ४ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन्। यीबाहेक ५ जना स्वतन्त्र सांसदलाई मनाउने अभ्यासमा कांग्रेस सक्रिय देखिएको छ।

भिडिओ रिपोर्ट

देउवाले बलियो बहुमतका लागि नेकपा एकीकृत समाजवादीका १० जनाको समर्थन लिने तयारी पनि गरेको उच्च स्रोतले दाबी गरेको छ। यसको हुँदा कांग्रेससँग १४९ जनासम्मको समर्थन रहन्छ। उच्च स्रोतले कम्युनिस्ट बाहेकको सरकार गठनका लागि कांग्रेसले राप्रपाका १४ जनाको समर्थन लिने छलफल पनि अगाडि बढाएको छ।

‘गठबन्धनमा प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन नगरेको खण्डमा विकल्पको तयारी स्वभाविक बन्छ’, कांग्रेसका एक जना नेता भन्छन्,‘राष्ट्रपतिले दिएको समयसीमाभित्र हामी बहुमतमा रहेको दाबीसहित शितल निवास जानुपर्ने हुन्छ।’

सत्ता गठबन्धनमा माओवादीको समर्थन हुँदा देउवालाई सुविधाजनक बहुमत हुन्छ। तर, प्रचण्डले पहिलो कार्यकाल आफूले नै प्रधानमन्त्री पाउनुपर्ने अडान कायम राखेका छन्। यहि विषयमा कुराकानी गर्न शनिबार विहान बालुवाटार पुगेका प्रचण्डले देउवासँग साढे २ घन्टा छलफल गरेका थिए। तर, देउवा टस न मस भएपछि प्रचण्ड निराश भएर फर्किएको स्रोतले जनाएको छ।

कांग्रेसको पछिल्लो अभ्यासचाहिँ एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीलाई प्रतिपक्षमा राख्नेगरी नै चलेको छ। यसका लागि विभिन्न नेताले अलग अलग पार्टीका प्रमुखसँग औपचारिक र अनौपचारिक छलफल जारी राखेका छन्।

यसअघि गठबन्धन कायम राख्ने हो भने देउवालाई पहिलो कार्यकालको प्रधानमन्त्री स्वीकार गर्ने प्रस्तावसहित प्रचण्डनिवासमा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह पुगेका थिए। तर, प्रचण्डले देउवा प्रधानमन्त्री बनिसकेको र यस पटक आफ्नो पालो भएको भन्दै अडान छाडेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट