काठमाडौं– बालुवाटारमा शनिबार हुने सत्ता गठबन्धनको बैठकअघि आगामी प्रधानमन्त्रीको पहिलो कार्यकालको विवाद समाधानका लागि नेपाली कांग्रेसका नेता सक्रिय भएका छन्।
पहिलो लटको दाबी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटार नै पुगे। उनले पहिलो लटमा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गर्न प्रचण्डलाई प्रस्ताव गरेका थिए। तर, उच्च स्रोतले भन्यो,‘प्रचण्ड, मान्दै मान्दैनन्।’
सभापति देउवा र प्रचण्डबीच छलफल हुँदा पहिलो कार्यकाल कसले प्रधानमन्त्री पद लिने भन्ने विषयमा सहमति जुटेको थिएन। शुक्रबार कांग्रेस नेता प्रकाशमान सिंह पनि प्रचण्डलाई फकाउन पुगेका थिए। तर, प्रचण्डले मानेनन्।
यता कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि प्रचण्ड र माधवकुमार नेपालसँग अलग–अलग छलफल गरेका थिए। उनले पनि देउवालाई नै प्रधानमन्त्रीमा स्वीकार गर्दा उपयुक्त हुने प्रस्ताव गरेका थिए। खड्काले भनेका छन्,‘हामी मिलाउने कोशिशमा छौं।’
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्। कुनै पनि दलको एकल बहुमत नआएका कारण बहुमत पुष्टि हुनेगरी नाम लिएर आउनका लागि उनले प्रतिनिधि सभाका दललाई आह्वान गरेकी थिइन्।
प्रचण्ड किन मान्दैनन्?
सत्ता गठबन्धनसँग बहुमतका लागि २ सिटको कमी छ। गठबन्धन दलसँग १३६ सांसद छन् र साना दलको सहयोग अनिवार्य हुन्छ। पहिलो कार्यकालमा प्रधानमन्त्री बन्न नपाए दुई बर्षपछिको राजनीतिक सिनारियो नै परिवर्तन हुनसक्ने खतरा प्रचण्डले देखेका छन्।
प्रचण्डको अर्को दाबीचाहिँ एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि देउवालाई प्रधानमन्त्री बनाएका कारण पनि पहिलो कार्यकालको हक आफूले पाउनुपर्ने रहेको छ। खुमलटार स्रोतले भन्यो,‘गठबन्धनमा इमान्दारीता हुने हो भने अध्यक्ष प्रधानमन्त्री बन्नुपर्छ हैन भने कुरा मिल्दैन।’
कांग्रेस पहिलो दल भएका कारणले राष्ट्रपतिको दाबीसहित पहिलो कार्यकालको प्रधानमन्त्रीत्व पनि लिन चहान्छ। तर, माओवादीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री लिने हो भने राष्ट्रपति पद आफूले पाउनुपर्ने दाबी गरिरहेको छ।
प्रचण्डका कुनै पनि अडान र प्रस्तावलाई देउवाले फिस्स हाँसेर उडाइदिएको र आफैं प्रधानमन्त्री बन्नका लागि विभिन्न नेतालाई खुमलटार पठाउनेक्रम जारी रहेको बताइन्छ।
गठबन्धनमा देउवाको भन्दा पनि प्रचण्डको नै पहिलो लटको प्रधानमन्त्रीमा हक लाग्ने लविङ गरिदिने नेता पनि छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रचण्डका पक्षमा रहेका छन्।
प्रचण्डले सार्वजनिक सभामा पनि आफू नै सरकार प्रमुख बन्ने बताउँदै आएका थिए। चुनाव जीतेपछि उनले जनतामाझ यस्तो कबुल गरेका कारण पनि पहिलो कार्यकाललाई छाड्न चहाँदैनन्।