![sami](https://www.sutranews.com/wp-content/uploads/2022/12/sami.jpg)
![बाम–राष्ट्रवादी नयाँ गठबन्धनको जन्मः प्रधानमन्त्रीमा प्रचण्ड पक्का](https://www.sutranews.com/wp-content/uploads/2022/12/sami.jpg)
काठमाडौं– नेपाली कांग्रेसको नेतृत्व रहेको ‘बाम–लोकतान्त्रिक’ गठबन्धन विघटनसँगै एमाले नेतृत्वमा नयाँ ‘बाम–राष्ट्रवादी’ गठबन्धनको जन्म भएको छ।
जसमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहने छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटबाट यो गठबन्धनको जन्म भएको हो। जसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा अनुमोदन गर्नेछ।
यो गठबन्धनलाई समर्थनसहित सरकारमा सहभागी हुने विषयमा राप्रपा र जसपाले आकस्मिक बैठकमा छलफल चलाइसकेका छन् भने अन्य दल पनि सहभागी हुने पक्कापक्की जस्तो बनेको छ।
बालकोटमा गठबन्धनमा सहभागी हुने पार्टीका मुख्य नेता पुगेका थिए। ओलीसहित प्रचण्ड, रास्वपा अध्यक्ष रवि लामिछाने, जसपा नेता अशोक राईको बैठक बसेको थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन त्यसअघि नै ओलीसँग भेट गरी फर्किएका थिए।
नयाँ गठबन्धनमा सहभागी दलसँग प्रतिनिधि सभाका १६६ सिट संख्या प्रष्ट देखिएको छ। अहिले प्रष्टसँग देखिएका एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२ र जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन्।
प्रचण्ड नै प्रधानमन्त्री हुने अवस्थामा प्रभु साहसहित अन्य ५ स्वतन्त्र सांसदले पनि यहि गठबन्धनलाई सहयोग गर्न सक्ने अनुमान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ५ बजेसम्मको समयसीमा दिँदै संविधानको ७६(२) अनुसारको सरकारको दाबी गर्न आह्वान गरेकी थिइन्।
यसअघि वाम लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको दाबी नछाडेपछि प्रचण्डले औचित्य सकिएको भन्दै नयाँ गठबन्धन गर्नेगरी बालकोट यात्रा तय गरेका थिए। कांग्रेसले प्रचण्डलाई फकाउन खोजे पनि अब सम्भव नभएको जवाफ फर्काएको बताइन्छ।
यो गठबन्धन हालै निर्वाचनले अनुमोदन भएको पहिलो दल नेपाली कांग्रेसबाहेकको बन्दैछ। जसमा दलगत मान्यता नपाएको नेकपा एकीकृत समाजवादीको सहभागीता छैन। यसमा दोस्रो एमाले, तेस्रो माओवादी, चौथो रास्वपा, पाँचौ राप्रपा, छैठौं जसपा र सातौं जनमत पार्टी सहभागी छन्।
प्रचण्डले भन्ने गरेको ‘राजनीति सम्भावनाको खेल हो’ भनाई जस्तै देउवाको छैठौं पटक प्रधानमन्त्री बन्ने सपनामा तुसारापात गर्ने तत्वका रुपमा उदय भएको छ।