अन्तिम घन्टामा प्रचण्डद्वारा देउवा ‘बोल्ड आउट’, सन्निकट सत्ता गुम्दा देउवाका ज्योतिषको चर्चा-Sutra News

अन्तिम घन्टामा प्रचण्डद्वारा देउवा ‘बोल्ड आउट’, सन्निकट सत्ता गुम्दा देउवाका ज्योतिषको चर्चा

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौं– राष्ट्रपति र प्रधानमन्त्रीको दाबी नछाड्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सन्निकट सत्ता गुमाएका छन्। देउवासँग रहेका दुई विकल्पमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत थिए। कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री चलाउने भए राष्ट्रपति माओवादीले पाउनुपर्ने माग थियो।



अथवा राष्ट्रपति कांग्रेसले राख्ने हुँदा प्रधानमन्त्रीको पहिलो कार्यकाल प्रचण्डले पाउनुपर्ने विकल्प पनि देउवासँग थियो। तर, उनी त्यो दुवै विकल्पमा प्रचण्डसँग सहमत भएनन् र अन्तिम अवस्थामा सत्ता समीकरणमा असोचनिय निर्णय भयो। सबै खेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उल्टाइदिए, प्रचण्ड प्रस्तावमा।

जब बालुवाटारमा सहमति नबने अवस्था आयो अनि प्रचण्ड बालकोटतिर लाग्नासाथ राजनीतिमा नयाँ नयाँ परिघटना र समर्थनका विषय एउटा रहस्यमयी कथा जस्तो खुल्दै गए। प्रचण्ड बालकोट पुग्नुअघि नै संसदमा प्रभाव राख्न सक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगिसकेका थिए।

प्रचण्डको बालकोट इन्ट्रिसँगै मुसुक्क गरेका ओली छलफलमा जुट्दा नजुट्दै जनता समाजवादी पार्टीका सह–अध्यक्ष अशोक राई पुगेपछि प्रचण्ड प्रधानमन्त्री बन्ने पक्कापक्की भयो। ‘चमात्कारिक निर्णय भयो। प्रभाव राख्न सक्ने दलका नेताले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सकारात्मक धारणा देखाए’, बालकोटमा उपस्थित एमालेका एक नेता भन्छन्,‘प्रतिपक्षमा बस्न तयार भएका राप्रपा, रास्वपा, जसपालगायतका दल एमालेसँगको सन्निकटतामा छन् भन्ने पुष्टि भयो।’

त्यति मात्र भएन सरकार नयाँ गठबन्धनले बनाउने पक्कापक्की भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगे। उनी पुगेलगत्तै जब सांसद संख्याको काउन्ट हुन थाल्यो रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको समर्थन पनि प्रचण्डका पक्षमा खुल्यो। प्रचण्डका लागि प्रभु साहको प्रभावमा रहेका ५ सांसदको पनि समर्थन हुने सम्भावना रहेको छ।

प्रधानमन्त्री नियुक्तिसम्म १६६ सांसदको समर्थन पाएका प्रचण्डले विश्वासको मत पाउँदा १७१ पुग्न सक्ने अनुमान गरिएको छ। २६५ सदस्य रहेको प्रतिनिधि सभामा यो अधिक बहुमतको संख्या हुनेछ।

स्पष्ट खुलेकामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन्।

भिडियोमा पनि हेर्नुस् 

७ दलको गठबन्धन बनेपछि केही लेनदेनका सहमति पनि भएका छन्। एमालेले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री र सभामुखचाहिँ आलोपालो हुने सहमति भयो। साढे २ बर्ष प्रचण्डले सरकार चलाउँदा सभामुख एमालेका रहनेछन् भने त्यसपछि ओलीले सरकार चलाउँदा सदनको मुखिया माओवादीको हुनेछ। उपराष्ट्रपति र उपसभामुख सम्भवतः रास्वपा र राप्रपाका भागमा पर्न सक्नेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा सन्निकट रहेको सत्ता गुमाएका सभापति देउवाको ७ पटक प्रधानमन्त्री बन्ने ज्योतिषिय भविष्यवाणी नै गलत साबित भएको छ।

यहि क्रममा उनका ज्योतिष सुरेशचन्द्र रिजालको चर्चा पनि भएको छ। उनैले देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग भएको भन्दै चर्चामा आएका थिए।

यदि यो गठबन्धन र प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था नआएको भए मुलुक अस्थिरताको बन्दी बन्ने पक्कापक्की थियो। प्रचण्ड प्रतिपक्षमा उभिनेगरी जाँदा देउवा अल्पमतको प्रधानमन्त्रीमा त नियुक्त हुने थिए तर सरकारले स्थिरता पाउने थिएन।

सरकारमा सहभागी हुनेबारे औपचारिक निर्णय नगरेको तर प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको राप्रपाका महामन्त्री ज्ञानबहादुर शाही भन्छन्,‘राप्रपा सरकारमा जाने वा नजाने कुनै दल वा ब्यक्तिलाई समर्थन गर्ने वा नगर्ने कुनै निर्णय भएको छैन। नयाँ सरकार निर्माणको लागि बाधक बन्दैन। मध्यावधि चुनावमा नजाओस्, र देशको ढुकुटी खर्च नहोस् भन्नको लागि समर्थ गर्ने निर्णय भएको हो।’

सत्ता समीकरण र सहमतिमा इमान्दार नभए प्रचण्ड जुनसुकै राजनीतिक सहकार्यका लागि तयार हुन्छन् भन्ने आजको निर्णयले पुष्टि गरेको छ। सदन विघटनविरुद्ध उभिँदा देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न सक्षमता देखाएका प्रचण्डले सोही बेला भएको भद्र सहमतिबाट ब्याक हुँदा कांग्रेसको सत्तारोहणको विकल्प नै नामेट बनाइदिए। प्रचण्डको राजनीतिक बलिङले देउवा एलबीडब्लु होइन, क्याच पनि होइन सिधा बोल्ड आउट भएका छन्। यो कांग्रेसीका लागि एउटा गज्जबको सिकाई भएको नेता रामचन्द्र पौडेलले नै स्वीकारेका छन्। उनले भनेका छन्,‘प्रचण्डलाई धोका हुँदा कांग्रेस जिल्ल परेको छ।’ जबकि आइतबार बिहान मात्र पौडेललाई प्रचण्डको प्रस्ताव थियो– तपाई राष्ट्रपति, म प्रधानमन्त्री। सहमतिमा इमान भएन भने जे पनि हुन सक्ने सम्भावनालाई प्रचण्डले पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट