दुई तिहाई बहुमतको समर्थन जुटाउने अभ्यासमा प्रधानमन्त्री प्रचण्ड, ओली–नेपाल वार्ताको तयारी-Sutra News

दुई तिहाई बहुमतको समर्थन जुटाउने अभ्यासमा प्रधानमन्त्री प्रचण्ड, ओली–नेपाल वार्ताको तयारी

सोमबार, ११ पौस २०७९

सोमबार, ११ पौस २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ दलीय सत्ता गठबन्धनलाई ८ दलीय बनाउँदै दुई तिहाई बहुमतको समर्थन जुटाउने अभ्यास गरेका छन्।



स्वतन्त्रसहित हालसम्म १७२ जना प्रतिनिधि सभा सदस्यको समर्थन जुटाइसकेका प्रचण्डले सत्ता बाहिर रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सत्ता समीकरणमा ल्याउने अभ्यास गर्नेछन्।

मन्त्रिमण्डल विस्तारसँगै प्रधानमन्त्री पदको शपथ लिएपछि प्रचण्डले उक्त अभ्यास गर्ने भएका हुन्। उच्च स्रोतका अनुसार त्यसका लागि बामपन्थी मोर्चा बलियो बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालको वार्ता गराउने तयारी पनि प्रचण्डले गरिसकेका छन्।

पछिल्ला दिनमा समाजवादीको एमालेसँगका विभिन्न च्यानलमा कुराकानी भए पनि ओली र माधव नेपालको संवादचाहिँ हुन सकेको छैन। त्यसको मध्यस्ततासहितको समय प्रचण्डले नै मिलाउने तयारी गरेका छन्। प्रचण्डले प्रतिनिधि सभामा नेपाली कांग्रेसलाई एक्लो प्रतिपक्षीका रुपमा प्रतिस्थापित गर्ने रणनीति अपनाएका छन्।

भिडिओ रिपोर्ट

‘मूल कुरा हामीले हिजो जसरी विभाजन हुँदा ठक्कर खायौं र कांग्रेसले हेप्यो, अब त्यसलाई चिर्नका लागि पनि बामपन्थी शक्तिको मोर्चा अनिवार्य छ। हामी, सत्ता साझेदार दलसँग पनि सहकार्यमा कुनै कमी गर्नेछैनौं’, प्रचण्डनिकट स्रोतले भन्यो,‘अब हामी सरकार चलाउने मात्र होइन, कांग्रेसको खेलमाथि धावा बोल्नेछौं।’

प्रचण्डको पहलमा नै ०७४ अघि पनि एमाले र माओवादीको एकीकरण भएको थियो। तर सत्ता स्वार्थका कारण पार्टी विभाजन हुँदा ०७९ को निर्वाचनमा कम्युनिस्ट शक्ति कमजोर बन्यो। जसको फाइदा कांग्रेसले उठाएन मात्र प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने रणनीति पनि अपनायो। सोही रणनीति व्याकफायर हुँदा बामपन्थी शक्तिको मोर्चा बन्ने स्थिति पनि बनेको छ।

प्रचण्डले केपी शर्मा ओलीसहित तीन जना बसेर अगाडि बढ्ने कुराकानी गरिसकेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताइसकेका छन्। यसैकारण पनि सरकारलाई समर्थन गर्ने कि विपक्षमा बस्ने भन्ने विषयमा अनिर्णित एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा रहेको छ। उसले नेपाली कांग्रेसले गठबन्धनमा धेरै नै पेलेको विषयलाई पनि सतहमा ल्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट