काठमाडौं– आवधिक निर्वाचन २०७९ ले दिएको रोचक परिणामको नाम हो, रवि लामिछाने। ६ महिनाअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरी चुनावी मैदानमा उत्रिएका रविलाई अपेक्षाभन्दा राम्रो मत खस्दा निर्णायक शक्तिका रुपमा प्रतिनिधि सभामा २० जना सदस्यसहित सहभागी हुने मौका मिल्यो।
यो मौकाले उनलाई सोमबार मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी मिलेको छ।
प्रतिनिधि सभाको चौथो दल बनेको रवि सञ्चारकर्ममा मात्र नेपालमा सक्रिय रहेका थिए। कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा भुईँमान्छेका मुद्दाले रविलाई सञ्चारकर्मीबाट लोकप्रिय सेलिब्रिटी मात्र बनाएन सामान्य मानिसका भावनासँग पनि जोडिदियो। यसैकारण पनि उनका समर्थकको लेखाजोखा हुन नै छाड्यो।
रविको राजनीतिक यात्राको युटर्नचाहिँ एउटा आत्महत्या दुरुत्साहन मुद्दामा ११ दिन हिरासत बस्दा समर्थकले देखाएको आन्दोलन अनि नारायणी नदी किनारमा त्यसैबेला गरेको धन्यवाद सभाको भिडले गरायो। रवि आफैंले पनि आफ्नो लोकप्रियताको कस्तुरी त्यहिँ पत्ता लगाएपछि विस्तारै राजनीतितिर लम्किने उनको धेय बन्यो।
यसबाहेक राजनीतिक परिघटनामा देखिएका उदासिनता र स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पाएको लोकप्रियतालाई रविले क्यास गर्नका लागि ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गरे, जसले उनलाई अहिले सत्तारोहण मात्र होइन, अपेक्षित पदीय जिम्मेवारीमा चढाएको छ।
यदि शालिकराम पुडासैनीले रविविरूद्ध भिडिओ बनाउँदैन थिए र आत्महत्या नगरेको भए उनी हालसम्म पनि लोकप्रियता चिन्न नसक्ने स्थितिमा हुने थिए कि? अथवा राजनीतिमा नै हुने थिएनन् भन्ने परिकल्पना स्वभाविक नै हुन्छ।
२०७६ साउन २० गते पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला पर्नु नै रविका लागि अनपेक्षित राजनीतिक नियात्राको प्रस्थानविन्दु भन्नु अतियुक्ति नहोला।
भिडियोमा पनि हेर्नुस् –
रविको यो उदय यस्तो तिव्रताका साथ भयो कि यस्तो परिदृश्य, परिघटना र पटकथा त कुनै फिल्ममा पनि देखिँदैन। फिल्मलाई नै माथ खुवाउने रविको यो उदयसँगै सत्तारोहणका आगामी दिनले कस्तो पटकथा लेख्नेछ त्यो हेर्न बाँकी छ। तर सत्ता सहकार्यमा जानुका उनले विविध कारणचाहिँ दिएका छन्।
शपथ लिनुअघि उनले भनेका थिए,‘भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने साझा सहमति भएपछि सरकारमा सहभागी हुने निर्णय गरेका हौं।’
यीबाहेक विभिन्न मुद्दामा सत्ता गठबन्धनमा साझा सहमति भएको विवरण र फेहरिस्त रविले सुनाए। शिक्षा र स्वास्थ्यको बिलमा साझा प्रतिवद्धता, विदेशमा रहेका नेपालीहरुको भोटिङ राइटलगायतका विषयमा पनि साझा सहमति हुनु नै रविले सत्तामा जाने कसीका रुपमा प्रस्तुत गरेका छन्।
पार्टीभित्र राजनीतिक रुपमा केही विवादका बाछिटाबीच रविले सत्तामा जाने निर्णय गर्नु कति उत्पादक या प्रत्युत्पादक हुन्छ त्यसको लेखाजोखा उनलाई मत दिनेहरूले आगामी दिनमा गर्ने नै छन्। हालसम्म नेपालको राजनीतिमा देखिएका अस्थिरता, विदेशीको चलखेलका कारण सत्तामा देखिएका उलटपुलटमा रविले कस्तो निर्णय गर्लान्? अथवा त्यहि भुङ्ग्रोमा उनको गतिशिलता सिथिल होला? यो प्रश्न र उत्सुकताको परिक्षार्थी बनेर रवि लामिछाने गृह मन्त्रालयमा छिर्दैछन्, हेरौं अब आगामी दिनका कार्यकलाप।