सत्ता गुम्दा कांग्रेसभित्र छटपटीः देउवा पक्ष महामन्त्रीद्वय थापा र शर्माप्रति किन आक्रोशित छ?-Sutra News

सत्ता गुम्दा कांग्रेसभित्र छटपटीः देउवा पक्ष महामन्त्रीद्वय थापा र शर्माप्रति किन आक्रोशित छ?

मंगलबार, १२ पौस २०७९

मंगलबार, १२ पौस २०७९

काठमाडौं– हातैमा रहेको सत्ता गुमेपछि नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले एकले अर्कालाई आरोप लगाउन थालेका छन्।



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन सत्ता गठबन्धनमा प्रधानमन्त्री नपाउँदा एमालेसहितका अन्य दलको समर्थन पाइसकेका छन्। देउवाको हठ र शक्ति बाँडफाँटमा देखाएको उदासिनताका कारण एमाले–माओवादीले सत्ता कब्जा गरेका छन्।

देउवाको एउटा अडानका कारण ७ प्रदेशका सरकार समेत गुम्ने भएपछि कांग्रेसभित्र तिव्र विवाद र छटपटी छ।

महामन्त्री गगन थापाले तत्कालिन गठबन्धनका कुनै पनि बैठकमा निर्णायक त हैन, उपस्थितिका लागि पनि सभापति देउवाले निम्तो नदिएका कारण अहिलेको परिस्थिति आइपुगेको बताएका छन्।

‘संसदीय दलको नेताको निर्वाचनदेखि अहिलेसम्म गठबन्धनका दर्जनौं बैठक बसे। महामन्त्री दलको पदाधिकारी मात्रै होइन, विधानले उसको जिम्मेवारी नै स्पष्ट तोकेको छ। महामन्त्री स्वतः संसदीय दलको कार्यसमितिको पदेन सदस्य हो। दलको नेताले पार्टीमा के हुँदै छ, कता जाँदै छ भन्ने विषयमा पदाधिकारीसँग छलफल र बहस गर्नुपर्ने हो। तर किन भएन?’, थापाले भनेका छन्।

यता प्रधानमन्त्री को बन्ने भन्ने राजनीतिक छलफल तिव्रताका साथ चलेका बेला थापा पोखरामा साहित्य मेलामा पुगेका थिए। उनले भनेका छन्,‘बालुवाटारमा आइतबार बिहान निर्णायक छलफलमा बस्नुअघि सभापतिले पार्टीमा छलफल गरेर आउँछु भनेको पढेको थिएँ। उहाँले कतिखेर टेलिफोन गर्नुहोला भनेर कुरेर बसें। पोखरा जाने कार्यक्रमको समय पनि सारें तर टेलिफोन आएन। एक किसिमले अपमानितजस्तो भएर हामी (विश्वप्रकाश शर्मा) पोखरा गयौं।’

भिडिओ रिपोर्ट

आफूहरूलाई सभापति देउवाले महत्व दिएको भए गठबन्धन भत्किने खतरा नरहेको उनको जिकिर छ। राजनीतिमा लेनदेनको विषय गठबन्धनमा हुने भएकाले एउटा विन्दुमा सहमति हुने थापाको जिकिर छ। तर थापा चुनावअघि नै गठबन्धन गर्न नहुने पक्षमा थिए। उनी कांग्रेस एक्लै चुनावमा जानुपर्ने संस्थापनइतरका नेता हुन्। तर अन्तिम अवस्थामा डा. शेखर कोइरालाले सहमति गरेपछि थापाको पनि केही लागेन।

यता देउवा पक्षले भने महामन्त्रीहरूले सभापतिको निर्देशन नमानेको आरोप लगाएको छ। देउवालाई सत्ताच्युत गर्ने नाममा महामन्त्रीको भूमिका कांग्रेसलाई सत्ताबाट सडकमा पछार्नेसम्म भएको आरोप लगाइएको छ।

देउवानिकट एक नेता भन्छन्,‘कांग्रेसले सरकार गठन भएसम्म कोही पनि सांसद उपत्यका बाहिर नजानका लागि एक प्रकारको ह्विप नै जारी गरेको थियो। तर, दुवै महामन्त्री पोखरा लागे। अन्तिम समयसम्म पनि एउटा निचोडका लागि छलफल हुने थियो तर सभापतिलाई असफल बनाउने काम भयो।’

कांग्रेसभित्र ठूलो छटपटी रहेको त सभापति देउवाको मुहारमा सोमबार नै देखिएको थियो। प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण कार्यक्रममा उपस्थित भएका उनी तुरुन्तै फर्किए। शपथका क्रममा पनि उनी औपचारिकता निभाउन मात्र आएको जस्तो देखिन्थ्यो।

प्रतिनिधि सभाको निर्वाचनमा संसदको सबैभन्दा ठूलो पार्टी बने पनि कांग्रेसले धेरै अवसर गुमाएको विषयमा औपचारिक र अनौपचारिक रुपमा नै दुई पक्षको असन्तुष्टि व्यापक छ। बरिष्ठ नेता रामचन्द्र पौडेलले त प्रचण्डलाई धोका भएको भन्ने अभिव्यक्ति नै दिइसकेका छन्। समग्रतामा देउवाको अडान नै कमजोरी रहेको भन्ने सन्देश त नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट