नैतिक घेराबन्दीमा कांग्रेसभित्र देउवा–राणा ‘सर्वसत्तावाद’-Sutra News

नैतिक घेराबन्दीमा कांग्रेसभित्र देउवा–राणा ‘सर्वसत्तावाद’

बिहिबार, १४ पौस २०७९

बिहिबार, १४ पौस २०७९

काठमाडौं– पुस ९ गते बालुवाटारमा आरजु राणा देउवाले महिला सांसदलाई बोलाएर कुनै पनि हालतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्व छाड्न नहुने अडान राख्न लगाएपछि सुरु भएको थियो कांग्रेसको दशाग्रह।



बालुवाटारमा भेला भएका सांसदले सभापति शेरबहादुर देउवालाई तत्कालिन सत्ता गठबन्धनमा प्रधानमन्त्री पदको अडान नछाड्न दबाब दिए। यति मात्र होइन मन्त्रीको लालचमा दौडिरहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइरालालगायतले पनि प्रधानमन्त्री छाड्न नहुने सुझाव दिए।

यसले कांग्रेसभित्र शासन चलाइरहेका देउवा र आरजु राणालाई अझ बल पुग्यो। उपसभापति पूर्णबहादुर खड्कासम्मले दिएको सुझाव नमानेपछि सत्ता राजनीतिमा सबै गुमाएको कांग्रेसभित्रै अब देउवा दम्पत्ती घेराबन्दीमा परेका छन्।

एकातिर नैतिक प्रश्नको सामना गर्नुपर्ने अवस्था छ भने अर्कातिर सांगठनिक र राजनीतिक जवाफ दिनुपर्ने बाध्यतामा देउवा पुगिसकेका छन्। किनभने अब उनलाई पार्टीभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति खड्कालगायतले पनि प्रश्न गर्नेछन्। जो उनको अडानका साक्षी पनि थिए।

गठबन्धन भत्किने मात्र होइन धुजा धुजा बनाउनका लागि देउवा–राणाको सत्ता स्वार्थले काम गरेको भन्दै शेखर–गगन समूहले नीति महाधिवेशन तत्काल हुनुपर्ने माग अगाडि सारेका छन्। पार्टीभित्र बहुमतमा भए पनि यसले देउवालाई नैतिक दबाब परेको छ।

एक सातापछि बस्ने केन्द्रीय समितिको बैठकमा इतर समूहले देउवाले नैतिकताका रुपमा राजीनामा दिनुपर्ने औपचारिक प्रस्ताव पनि गर्नेछ। यस्तै राजीनामा नदिए अर्ली महाधिवेशनको सवाल पनि उठ्नेछ। आउने २२ गते कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ।

माओवादीलगायतसँग चुनावमा गठबन्धन गर्न नहुने बताए पनि जबरजस्ती जाँदा धोका भएको जिम्मा पनि देउवाले लिनुपर्ने नेताहरूको धारणा छ। एक नेता भन्छन्,‘कांग्रेस एक्लै मैदानमा जाँदा यो भन्दा बढी सिट आउने सम्भावना थियो तर धोका भयो भन्ने अवस्था रहने थिएन। यो अवस्था कसरी आयो? गम्भिर समिक्षा हुनेछ।’

गठबन्धनमा रहेको लोकतान्त्रिक समाजवादीबाहेक सबै दल सत्ता समीकरणमा जुटेका शक्तिको समर्थनमा छन्। यति मात्र होइन परम्परावादी राप्रपादेखि नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि एमाले–माओवादी समीकरणमा लागेको छ।

‘यसले कांग्रेसको भूमिका माथि नै शंका हुन्छ। यसको जिम्मा सभापतिले लिनुपर्दैन? तर उहाँ चुइँक्क बोल्नुभएको छैन’, उच्च स्रोतले भन्यो,‘उहाँहरूको सर्वसत्तावाद कहाँनेर फेल खायो भन्नुपर्दैन?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट