काठमाडौं– पहिलो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले ०६५ मा सुनसरीको बराहक्षेत्रमा भएको विशाल धार्मिक सभाको उद्घाटन गर्ने क्रममा भैंसीको पुच्छर समातेर पूजा गरेको विषयले ठूलो चर्चा पाएको थियो।
भौतिकवादी नेताको अस्वभाविक उदयसँगै उनी गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यसबेला पनि उनलाई नेकपा एमालेको समर्थन थियो।
त्यसबेला पार्टीभित्र प्रचण्डको तिव्र आलोचना भएपछि केन्द्रीय कमिटीको बैठकमा जवाफ दिनु परेको थियो। उनले भनेका थिए,‘त्यहाँ के–के गराए मैले थाहा पाइँन। अब बुझेर गरिन्छ।’
राजनीतिक घटनाक्रममा उनी संयोगबस फेरि एमालेको बलियो साथमा प्रधानमन्त्री बनेका छन्। १४ बर्षपछि भने उनको भौतिकवादी चिन्तन बुझेर नै परिवर्तित भएको प्रतीत हुने रुप देखिएको छ।
भिडिओ रिपोर्ट
दौरा सुरुवाललाई परम्परावादी सम्झने उनी शितल निवासमा प्रधानमन्त्री पदको शपथ लिँदा सोही बस्त्रमा देखिए। दुनियाँका लागि यो नौलो विषय थियो। ‘दौरा सुरुवालको उहाँले निक्कै विरोध गर्नुभएको थियो। तर त्यहि पोसाकमा देखिँदा अचम्म लाग्यो’, सत्ता गठबन्धनका एक नेता भन्छन्,‘प्रचण्डमा भौतिकवादी चिन्तन विस्तारै कमजोर हुँदै गएको स्पष्ट नै छ।’
त्यसो त उनी धार्मिक परम्परा चलनका विषयमा पनि आलोचित नभएको होइनन्। बाबु मुक्तिनाथ दाहालको दागबत्ती दिँदा सुट र पाइन्ट लगाएका प्रचण्ड अहिले बालुवाटार सर्दा ज्योतिषको साइत देखाउँदा पनि चर्चा र विरोधको पात्र बनेका छन्। खुमलटारस्थित निजी निवासमा ज्योतिषी बोलाएर उनले बालुवाटारको साइत जुराएका थिए। ज्योतिषी टीकाराम घिमिरले उनको साइत हेरेका थिए।
उनले साँझ ५ बजेको साइत निकालेका थिए। त्यसो त अर्को रोचक संयोग के छ भने ज्योतिष देखाएर नै ७ पटक प्रधानमन्त्री बन्छु भन्ने कांग्रेस सभापति शेरबहादुर देउवा भने बालुवाटारबाट बहिर्गमन भइसकेका छन्। उनी पनि ज्योतिषको भरमा थिए।
जे होस् प्रचण्डमा अहिले देखिएको परिवर्तनमा भित्री कारणचाहिँ खुलाउन मुस्किल रहला। तर सतहबाट हेर्दा प्रचण्ड विस्तारै उग्र क्रान्तिकारी शैलीबाट मौलिक परम्पराको कसीमा उत्रिन थालेका छन्। सम्भवतः त्यसैले उनलाई ३२ सिट ल्याउँदा पनि झन्डै दुई तिहाईको बहुमत पुग्नेगरी दलहरूले समर्थन गरेका छन्।
प्रचण्ड कुनै बामपन्थीको मात्र होइन, परम्परावादी, मास फ्रस्टेसनको नतिजासहित बलियो सांगठनिक संरचना भएका दलहरूको समर्थनमा उत्रिन सफल भएकाचाहिँ पक्कै देखिन्छ।