काठमाडौं– पूर्वसञ्चारकर्मी रवि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेको सोमबार एक साता पूरा भएको छ।
जनमुखि काम गर्ने प्रतिबद्धतासहित गृहमन्त्रीको जिम्मेवारी लिएका उनले प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि काम स्वतन्त्रपूर्वक गर्ने अवसर दिनका लागि शनिवार अनुरोध गरेका थिए।
विवाद र चर्चामा हुँदाहुँदै गृहमन्त्रीको जिम्मेवारी पाउनसाथ उनले भनेका थिए,‘मेरो नागरिकतासम्बन्धी अनुसन्धानमा कुनै हस्तक्षेप हुनेछैन।’ यस प्रकरणमा के हुँदैछ, प्रहरीले त्यो त खुलाएको छैन तर जिम्मेवारी सम्हालेका रवि लामिछानेले भने कामको गति दिन खोजेका छन्।
लोकप्रियताका लागि विदाका दिन सरकारी गाडी सुविधा नलिई निजी सवारीको प्रयोग गर्न सुरु गरेका लामिछानेले पुस ११ गते प्रधानमन्त्री प्रचण्डसँगै उक्त जिम्मेवारीको शपथ लिएपछि ७ दिनमा प्रचारमा आउने प्रकारका ८ काम गरेका छन्।
१. निर्मला पन्त बलात्कार र हत्याको छानबिन गर्ने प्राथमिकता
कार्यभार सम्हालेको पहिलो दिन नै लामिछानेले कञ्चनपुर भिमदत्तकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई मुख्य कामका रुपमा हस्ताक्षर गरेका थिए। सिंहदरबारस्थित मन्त्रालयमा जिम्मेवारी ग्रहण गर्दै उनले पहिलो प्राथमिकतामा सोही कामलाई राखेका थिए।
२. राहदानी विभागमा अनुगमन
समाचार माध्यममा राहदानी लिन आम साधारणले समस्या खेपीरहेका खबर आएपछि गृहमन्त्री लामिछाने राहदानी विभागमा अनुगमनका लागि पुगेका थिए। सो समस्या देखेपछि त्यसको समाधानको पहल गर्ने आश्वासन दिएर उनी फर्किएका थिए।
३. निवासमा पिर्के सलामी हटाइयो
हरिहरभवनस्थित निवासमा पुग्दा उपप्रधान तथा गृहमन्त्रीका हैसियतमा लामिछानेले सलामी लिनुपर्ने प्रावधान छ। उक्त प्रावधानलाई स्वीकार गर्दा लामिछानेले पिर्का हटाए। अर्थात् सर्वाधिक आलोचना भइरहेको पिर्के सलामी उनले लिएनन्। साधारण सलामी लिएर निवास प्रवेश गरेका थिए। सो क्रममा उनले पूजा र जाप पनि गरेका थिए।
४.प्रहरी अधिकारीलाई नेता र दूतावासमा अनौपचारिक भेटमा रोक
गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले प्रहरीका उच्च अधिकारीले नेताको दैलो र राजदूतलाई अनौपचारिक हिसाबले भेट गर्ने चलनलाई रोक लगाउन कडा निर्देशन जारी गरेका थिए। उनका तर्फबाट गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणी नेपालले विज्ञप्ति जारी गरी यस्तो निर्देशन दिएका थिए। भेट गर्नु नै परेमा पनि गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने अन्यथा विभागीय कारबाही हुने चेतावनीसहितको परिपत्र जारी भएको थियो।
भिडिओ रिपोर्ट
५.ट्राफिक प्रहरी रेडलाइटमा रोकिने, नियम मान्ने
उपप्रधान तथा गृहमन्त्री चर्को सुरक्षा घेरामा सवारी हुने प्रावधानमा पनि उनले खास घोषणा गरे। लामिछानेले काठमाडौंका ट्राफिक लाइटमा रातो बले रोकिने र नियमलाई पालना गर्ने घोषणा गरेका छन्। यो प्रक्रिया उनले कति कार्यान्वयन गर्लान् त्यहोचाहिँ हेर्न बाँकी छ।
६.राहदानी सहज वितरणका लागि विज्ञ समूह बनाउने निर्णय
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गृहमन्त्री लामिछानेले राहदानीको सहज वितरण र छिटो प्रक्रिया मिलाउनका लागि एक विज्ञ समूह गठन गर्ने निर्णय गराएका छन्। जसमा प्रधानमन्त्री प्रचण्डको सकारात्मक निर्देशन थियो। राहदानी विभाग अनुगमनको प्रभावका रुपमा लामिछानेले यो काम गर्ने सक्षमता देखाए।
७. प्रहरी प्रधान कार्यालयको निरिक्षण, निर्मला पन्त प्रकरण छानबिनका लागि समिति गठन
गृहमन्त्री लामिछानेले प्रहरी प्रधान कार्यालयको निरिक्षण गरेपछि सुरुमा हस्ताक्षर गरेअनुसार निर्मला पन्त प्रकरणलाई नयाँ शिराबाट छानबिन गर्न समिति गठन गराए। प्रहरी महानिरिक्षक (आईजी) धिरज प्रताप सिंहको निर्देशनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत प्रहरी नायव महानिरिक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन भएको छ।
सिंह नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा सीआईबीका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सक पनि छन्। प्रहरी उच्च स्रोतका अनुसार पहिला भएका अनुसन्धानका प्रतिवेदनसहित थप काम हुनेछन्। २०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा बाँसघारीमा शव भेटिएको थियो। कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो।
८. जनमुखी सेवा सुलभ बनाउनका लागि ७७ जिल्लाकै सीडीओ, सुरक्षा निकाय प्रमुखसँग भर्चुअल बैठक र निर्देशन
गृहमन्त्री लामिछानेले ७७ जिल्लामा नै नागरिकको सेवा सहज र सरल बनाउनका निम्ति प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू र सुरक्षा निकायका जिल्ला प्रमुखहरू (प्रहरी, सशस्त्र, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग)लाई निर्देशन दिएका छन्। शान्ति सुरक्षा मात्र नभई नागरिकका समस्यालाई देखिने गरी समाधान र सहज बनाउन लामिछानेले निर्देशन दिएका छन्।
एक सातामा नै जिम्मेवारीमा खरो उत्रिएका लामिछाने कति सफल होलान् या विफल त्यो आगामी कामले देखाउनेछ। तर, उनी जुन गतिमा जिम्मेवारीमा सक्रिय छन् त्यसलाई नागरिकमुखी लय बनाउन सक्दा असफलचाहिँ हुने देखिँदैन।