![rastrapati](https://www.sutranews.com/wp-content/uploads/2023/01/rastrapati.jpg)
![माधव नेपालको च्याप्टर क्लोज, राष्ट्रपति र सभामुख दौडमा एमालेका को–को छन्?](https://www.sutranews.com/wp-content/uploads/2023/01/rastrapati.jpg)
काठमाडौं– पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि सभामुख र राष्ट्रपतिको निर्वाचनको तयारी हुने पक्कापक्की छ।
प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारी बोलाएर राष्ट्रपति, उपराष्ट्रपतिको चुनावको प्रक्रिया थाल्न निर्देशन दिइसकेका छन्।
हाल बनेको सत्ता समीकरणमा यी राष्ट्रपति र सभामुखको पद नेकपा एमालेको भागमा परेको छ। यसैकारण पनि एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा अहिले नेताहरूको दौडधुप बढेको बताइन्छ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति पदका आकांक्षी छन्। खासमा नेकपा एकीकृत समाजवादी एमालेमा समाहित भए राष्ट्रपति पदमा माधवकुमार नेपाललाई अटाउने चर्चा चले पनि त्यो च्याप्टर क्लोज भएको छ। एकीकृत समाजवादीले कुनै पनि गठबन्धनमा नलाग्ने निर्णय गरेसँगै माधव नेपालको नामको च्याप्टर बन्द भइसकेको हो। यसैकारण पनि एमालेका नेताको चर्चा चलिरहेको छ।
सतहमा नेपालको तेस्रो राष्ट्रपतिको अनुहारमा महिला नेतृका रुपमा अष्टलक्ष्मी शाक्यको पनि चर्चा छ। तर शाक्यले पार्टीले रुचाएको खण्डमा उक्त जिम्मेवारी लिने बताए पनि त्यसको दौडमा आफू नरहेको बताइसकेकी छन्। उनले भनेकी छन्,‘एमाले पार्टी, अध्यक्ष केपी शर्मा ओलीले अनुमोदन गरेको खण्डमा बन्दिन भन्न मिल्दैन। तर, म त्यो दौडमा छु भन्नेचाहिँ होइन।’
भिडिओ रिपोर्ट
सभामुखको जिम्मेवारी लिइसकेका नेम्वाङ राष्ट्रपतिको दौडमा छन्। उनले अध्यक्ष ओलीलाई आफ्नो इच्छा बताइसकेका छन्। नेम्वाङ ओलीका विश्वासपात्र रहेका कारण पनि राष्ट्रपति बन्ने सम्भावना रहेको बताइन्छ।
यता सभामुखका लागि पनि एमालेभित्र दुई नेताको आकांक्षा सतहमा आएको छ। उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा सभामुख पदका निम्ति बालकोट धाइरहेको स्रोतले जनाएको छ।
गुरुङ एमालेको प्रचार विभाग प्रमुख समेत हुन्। ‘सभामुखका विषयमा पनि अध्यक्ष ओलीको चाहना कुन नेतामा छ भन्ने पहिलो प्रश्न हो, पार्टीले अनुमोदन गरेका व्यक्ति नै सभामुख हुनेछन्।’
माओवादीलगायत सत्ता गठबन्धनमा रहेका दलसँग भएको सहमतिअनुसार अब बन्ने सभामुखले साढे दुई बर्ष प्रतिनिधि सभा चलाउनेछ। एमालेका एक जना स्थायी समिति सदस्य भन्छन्,‘स्वभाविक रुपमा जिम्मेवारी लिने आकांक्षी पार्टीभित्र हुन्छन्। तर, पार्टीको संसदीय दल र कमिटीहरूले कसलाई बनाउँदा उचित हुन्छ भन्ने सुझावका आधारमा नै निर्णय हुनेछ।’
जे भए पनि राष्ट्रपति र सभामुख पाएको एमालेभित्र अहिले चर्चामा रहेका यी चार पात्र मात्र छन्। पाँचौ वा अन्य पात्रको विषयमा भने ओली वा एमाले कमिटीको निर्णयले मात्र स्पष्ट पार्नेछ।