बाबुराम घुमीफिरी रुम्जाटार, नारायणकाजी श्रेष्ठलाई ‘चेक’ दिन प्रचण्डले गर्दैछन् स्वागत?-Sutra News

बाबुराम घुमीफिरी रुम्जाटार, नारायणकाजी श्रेष्ठलाई ‘चेक’ दिन प्रचण्डले गर्दैछन् स्वागत?

मंगलबार, १९ पौस २०७९

मंगलबार, १९ पौस २०७९

काठमाडौं– नेपालीमा एउटा उखान छ– घुमीफिरी रुम्जाटार। यो उखानजस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको राजनीति पनि चल्ने देखिएको छ।



कुनै बेला सबैभन्दा ठूलो दल रहेको तत्कालिन एकीकृत माओवादी (हालको माओवादी केन्द्र)का दोस्रो बरियताका नेता रहेका बाबुराम संविधान निर्माण हुनासाथ नयाँ शक्ति नेपाल गठन गरेका थिए।

नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा रहेका उनी हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरी अलग भए। बाबुराम अब फेरि नेकपा माओवादी केन्द्रमा समाहित हुने तयारीमा रहेका छन्। यसका लागि बाबुरामले आगामी पुस २४ गते केन्द्रीय समितिको बैठक डोकका छन्।

‘बैठकबाट पार्टीलाई नेकपा माओवादी केन्द्रमा समाहित गर्ने प्रस्ताव पारित हुन सक्छ। अहिलेसम्म यहि तयारी रहेको छ’, उच्च स्रोतले भन्यो,‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका निकै पटकका छलफलको परिणामका रुपमा माओवादीमा समाहित हुनु नयाँ कुरा होइन।’

माओवादीसँग समाहित हुनका लागि उक्त पार्टीका अर्का अध्यक्ष महेन्द्र राय यादव पनि सहमत छन्। उनी सर्लाहीमा माओवादीको चुनाव चिन्हमा बिजयी प्रतिनिधि सभा सदस्य हुन्। पछिल्लो पटक सत्ता समीकरण फेरिएर नयाँ गठबन्धन बनेपछि बाबुराम पनि समर्थनमा देखिएका छन्। यसले उनको आगामी राजनीतिक निर्णयको संकेत पनि गरिसकेको छ।

भिडिओ रिपोर्ट

प्रचण्ड र बाबुरामबीच यसबीचमा निक्कै छलफल भएका थिए। यसैकारण पनि नेपाल समाजवादी पार्टीका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए। यहाँसम्मकी काठमाडौं–७ मा बाबुरामकी छोरी मानुषी पनि सोही चुनाव चिन्हमा चुनावी मैदानमा उत्रिएकी थिइन्। तर पराजित भइन्।

राजनीतिको ओरालो यात्रामा रहेका बाबुरामले गोरखा–२ छाडेको गुण माओवादीमा दोस्रो बरियता दिएर तिर्दैछन् प्रचण्ड। प्रचण्डको यो राजनीतिक चातुर्यता पनि हुनेछ। हाल माओवादीको बरिष्ठ उपाध्यक्ष रहेका नारायणकाजी श्रेष्ठलाई ‘चेक’ दिन बाबुरामलाई भित्राउने तयारी प्रचण्डले गरेका हुन्। यसो हुँदा माओवादीभित्र दुई लाइन संघर्षमा खेल्दै प्रचण्ड नेतृत्वमा बर्चश्व कायम राखिरहने रणनीतिमा पनि छन्।

प्रचण्डका यसअघिका राजनीतिक प्रयोगमा पनि त्यहि देखिएको छ। राजनीतिक यात्रामा बाबुरामले पनि एक दशकको प्रयोगमा उच्चतम सफलता हात पार्न नसकेपछि माओवादी केन्द्रको ओत लाग्न आँटेका हुन्। उच्च स्रोतले भन्यो,‘कहिँ कतै केही सीप नचलेपछि राजनीतिक हैसियतका लागि पनि माओवादीमा समाहित हुनुको विकल्प बाबुरामले पाएका छैनन्। उनी कांग्रेस या एमालेमा जाने सम्भावना थिएन।’

नेपाली राजनीतिमा पार्टी फुटाउने फेरि जोडिने, पार्टी छाड्ने फेरि समाहित हुने प्रक्रिया र प्रयोग नयाँ भने होइन। यसैको उपक्रममा बाबुरामको माओवादीसँग समाहित हुने निर्णय खासै नौलो विषयचाहिँ हुनेछैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट