रवि लामिछानेको दल पाँचौ बनाउन उपेन्द्र यादव र माधव नेपाल कस्सिए, एकीकरण सम्भव छ?-Sutra News

रवि लामिछानेको दल पाँचौ बनाउन उपेन्द्र यादव र माधव नेपाल कस्सिए, एकीकरण सम्भव छ?

मंगलबार, १९ पौस २०७९

मंगलबार, १९ पौस २०७९

काठमाडौं– प्रतिनिधि सभामा चौथो शक्ति र सरकारमा प्रभावकारी उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी लिएका रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाँचौ स्थानमा पार्नेगरी जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच एकताको अभ्यास सुरु भएको छ।



यसका लागि छलफल सुरु भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्। यो एकीकरण सम्भव भएको खण्डमा रवि लामिछानेको दल प्रतिनिधि सभामा पाँचौ स्थानमा पुग्नेछ।

एकताका विषयमा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष यादवबीच चर्चा चलेको थियो। दुवै पार्टी एकीकरणका लागि राजी भए प्रतिनिधि सभामा चौथो ठूलो दल बन्नेछ। जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदसहित २२ जना हुँदा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित ५औं दल हुनेछ।

जसपा राजनीतिक समितिका सदस्य मनिकर कार्कीले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे छलफल जारी रहेको बताएका छन्। एकीकरण भएको खण्डमा जसपा दुई पूर्वप्रधानमन्त्री र एक पूर्वउपप्रधानमन्त्रीसहितको पार्टी बन्नेछ।

भिडिओ रिपोर्ट

तर जसपासँग एकीकरण गर्दाका मिठा अनुभव भने छैनन्। केपी शर्मा ओलीको तत्कालिन सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेको थियो। तर शेरबहादुर देउवा सरकारले अध्यादेश ल्याएपछि यो दल विभाजन भयो। महन्थ ठाकुरलगायतका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएका थिए।

यस्तै बाबुराम भट्टराईसँगको एकीकरण पनि जसपाका लागि लाभदायक भएन। बाबुरामले नेपाल समाजवादी पार्टी गठन गरे। उपेन्द्र यादवको एकल निर्णय रहँदै आएको पार्टीमा एकीकृत समाजवादी एकीकरण भए माधवकुमार नेपालसँग ट्युनिङ मिल्छ या मिल्दैन भन्ने पनि एक तहमा चासोको विषय बनेको छ।

‘एमाले जस्तो पार्टीमा केपी शर्मा ओलीसँग कुराकानी नमिल्दा माधव नेपालले अर्को पार्टी खोलेका हुन्। अब उपेन्द्र यादवसँग एकता गर्दा सहज हुन्छ भन्ने ठान्नु पनि गलत हुन सक्छ’, एमालेका एक नेता भन्छन्,‘दलहरू मिलेको राम्रो हो तर त्यहाँभित्र कस्ता चरित्र भएका नेता छन् भन्ने कुराले अर्थ राख्छ।’

एकीकृत समाजवादीले सरकारलाई समर्थन गरिसकेको छैन भने जसपाले समर्थन गरेको छ। तर, यो पार्टी एकतामा गए के होला? अहिलेको सरकारलाई समर्थन गर्ला कि फिर्ता लिन सक्ला? त्यो पनि चासोको विषय बनेको छ। जे होस् एकता हुँदा पार्टीको हैसियत सदनमा चौथो हुनेचाहिँ पक्कापक्की नै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट