काठमाडौं– काठमाडौं महानगरापालिकाका मेयर बालेन्द्र उर्फ बालेन साह बागमती किनारका सुकुम्बासी हटाउने अभियानदेखि खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयका कारण विवाद र चर्चामा छन्। तर उनले आफ्नो अभियानलाई निरन्तरता दिने अठोट नै गरेका छन्। यसकारण पनि उनले खुलामञ्च संरक्षणकर्ताको विज्ञप्ति नै नबुझी गृह मन्त्रालयमा पाइला टेके, मंगलबार।
सुकुम्बासी हटाउने अभियान निक्कै चर्को र सुरक्षा आवश्यक रहेका कारण पनि बालेनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सहकार्यका लागि प्रस्ताव गरेका थिए। यसमा रवि लामिछानेको साथ र सहयोगमै राष्ट्रिय स्वतन्त्र पार्टीको तत्कालिक सक्रियताको प्रभाव देखिने स्पष्ट छ। किनभने, बालेनको प्रभाव उक्त पार्टीको संगठनात्मक संरचनामा पनि रहेको छ।
त्यति मात्र होइन बालेनले ल्याएको चुनावी परिवर्तनको नयाँ लहरको कसीमा रवि लामिछानेको राजनीतिक नियात्रा सुरु भएको थियो। यसैले पनि स्थानीय चुनावअघि राजनीतिक पार्टीको घोषणा नगरेका रवि कम्मर कसेर प्रतिनिधि सभाको निर्वाचनमा लागि परेका थिए।
स्वतन्त्र उम्मेदवार बालेनको लोकप्रियताको कसीमा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका थिए। तर उक्त पार्टीमा बालेन अभियानकर्मीकै बलियो ‘ब्याकअप’ छ। चितवन–१ बाट निर्वाचन जीतेका रास्वपाका हरि ढकालदेखि फरक मत राख्दै हिँडेका गणेश कार्कीसम्म बालेन अभियानकर्मी हुन्। उनीहरू प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका क्रममा रवि लामिछानेको पार्टीमा जोडिएका थिए।
भिडिओ रिपोर्ट
उच्च स्रोतले भन्यो,‘अहिले पनि रवि लामिछानेको पार्टीका अधिकांश समर्थक र नेताहरू बालेन अभियानमा सक्रिय नै छन्। यसकारण उक्त पार्टीमा बालेनको ब्याकप कायम छ। सहकार्य गर्दा राम्रो हुने देखिन्छ, टकराब भए रवि लामिछानेका लागि नोक्सान हुने सम्भावना देखिन्छ।’
स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर बालेनले बैकल्पिक राजनीतिको राम्रो अवसर रहेको संकेत देखाएका थिए। सोही उभारलाई देखेका भुईँमान्छेका मुद्दामा लोकप्रिय रहेका रवि लामिछानेले पार्टी गठन गरी समानुपातिक मतमा समेत हस्तक्षेप गर्ने लक्ष्य समाते। फलतः उनको योजनाअनुसार नै नयाँ मतदाताले समानुपातिकमा लामिछानेको पार्टीलाई पत्याउँदा उनी सरकारमा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा छन्। तर, बालेनले सत्ता समीकरणको निर्णयका दिन नै लेखेका थिए–नयाँ सांसदहरू, नयाँ गफाडीहरू! उही पुरानो देश। उही पुराना व्यापारीहरू।
नयाँ पुस्ता, विदेशमा रहेका श्रमिकहरूले बालेन र रवि लामिछानेको सहकार्यको अपेक्षा गरेका छन्। तर, काठमाडौंको सौन्दर्यता र स्थानीयको मुद्दामा केन्द्रीत रहेका बालेन र राष्ट्रिय राजनीतिमा महत्वकांक्षी यात्रा तय गरेका रवि लामिछानेबीच सौहार्द सहकार्य होला कि नहोला? आगामी दिनमा हेर्न बाँकी नै छ।