माधव नेपालले ओलीसँग ‘इगो’ राख्नुको खास कारण, लड्डु खुवाएका प्रचण्डसँग किन रिसाए?-Sutra News

माधव नेपालले ओलीसँग ‘इगो’ राख्नुको खास कारण, लड्डु खुवाएका प्रचण्डसँग किन रिसाए?

बुधबार, २० पौस २०७९

बुधबार, २० पौस २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कुनै पनि हालतमा एमालेसँग एकताको पक्षमा उभिन तयार छैनन्।



यहाँसम्मकी एमाले अध्यक्ष ओलीको प्रशंशा गर्ने आफ्नै पार्टी सचिव रामकुमारी झाँक्रीतिर लक्षित गरी पोलिटब्युरो बैठकमा माधव नेपालले रोष पनि पोखेका थिए।

एमाले अध्यक्ष ओलीसँग माधव नेपालको इगो हुनुको कारण खोज्न ०७० को संविधानसभा निर्वाचनपछि भएको संसदीय दलको निर्वाचनमा फर्किनुपर्छ। त्यसअघि ओली–नेपालबीच खासै चिसो सम्बन्ध थिएन। किनकी, बुटबलमा भएको एमालेको आठौं महाधिवेशनमा झलनाथ खनालविरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएका ओलीलाई माधव नेपालले सघाएका थिए।

दोस्रो संविधानसभा निर्वाचनपछि प्रतिनिधि सभाको यात्रा तय गरेका ओलीसँग माधव नेपालका खटपट त्यतिबेला सुरु भए जतिबेला उनी संसदीय दलको नेता बन्न चहान्थे। तर ओली आफैं मैदानमा भएपछि आठौं महाधिवेशनको गुण नतिरेको इख माधव नेपालले बोकेका थिए।

०७० मा एमाले संसदीय दलको निर्वाचनदेखि नवौं महाधिवेशनसम्मलाई मात्र मुल्यांकन गर्दा नै ओली–नेपाल सम्बन्ध चिसिँदै गएको भेटिन्छ। माधव नेपालले त्यसबेला संसदीय दलको नेतामा झलनाथ खनाललाई समर्थन गरेका थिए। तर, तत्कालिन अध्यक्ष खनाल ओलीसँग पराजित भए। माधव नेपाल आजित भए।

लगत्तै भएको नवौं महाधिवेशनमा माधव नेपाल ओलीसँग नै अध्यक्षमा मैदानमा उत्रिए। त्यहाँ पनि झिनो मतान्तरमा पराजित भएपछि उनले धाँधली भएको आरोप लगाए। तर ओली नै अध्यक्ष कायम भएपछि भने उनी पार्टीको अलग गुट चलाउन सक्रिय देखिए।

भिडिओ रिपोर्ट

‘आफूलाई सहयोग नगरेको प्रतिस्पर्धा गरेको भन्ने विषयले माधव नेपाल चिढिएका थिए’, केही समयअघि एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भनेका थिए,‘यहाँसम्मकी अध्यक्ष ओली मिर्गौलाको शल्यक्रिया गर्दा उहाँका विरुद्धमा अनेक अनेक नारा प्रचारबाजी गर्न माधव नेपालको समूह सक्रिय भयो। तर, महाधिवेशनमा पराजित पनि भयो।’

ओलीले नवौं महाधिवेशनमा नै अध्यक्षमा जीत निकालेपछि एमाले नेतृत्वको लामो विरासतमा अध्यक्ष नेपाल फर्किन सकेनन्। आफूले १५ बर्षसम्म दपेटेर राखेका नेताको अस्वभाविक उदय भएको पाएपछि नेता नेपाल रुष्ट थिए। यसैकारण पनि ओलीलाई ठेगान लगाउन तत्कालिन नेकपाको सचिवालयमा प्रचण्डसँग उनले केमेस्ट्रि बनाए। त्यति मात्र होइन ओलीलाई कारबाही गरी दोस्रो अध्यक्षको आत्मरतीमा केही दिन रमाए।

स्रोतले भन्यो,‘ओलीले प्रचण्डसँग मिलेर ठूलो पार्टीको नेता बनेको त चित्त बुझ्ने कुरा थिएन नै। त्यहिँमाथि बरियतामा चौथो नम्बरमा राखिएपछि उनी झन् रिसाए। तर, प्रचण्डको प्रस्तावमा उनी बरियताको तेस्रो नम्बरमा तानिएपछि नयाँ केमेस्ट्रि तय भयो।’

पछिल्लो पटक ओलीसँग मिलेर सरकार बनाउने कुराकानीका विषयमा आफूलाई समेत जानकारी नदिएको भन्दै अध्यक्ष नेपाल प्रचण्डसँगै रुष्ट छन्। ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्न नसकिने निचोड निकालिरहेका अध्यक्ष नेपालले प्रचण्डले अँगालेको नयाँ केमेस्ट्रिप्रति आक्रोशित पनि छन्।

विघटित अघिल्लो प्रतिनिधि सभा पुनःस्थापना गर्न सर्वोच्च अदालतले दिएको पहिलो आदेशबाट खुसी भएका नेपाललाई चितवनमा प्रचण्डले लड्डु खुवाएका थिए। तर, त्यसको मिठास नसकिँदै सर्वोच्च अदालतले नै नेकपा विभाजन गर्दै एमाले र माओवादीलाई पुनर्जीवन दिने आदेशसँगै माधव नेपाल राजनीतिक अप्ठेरोमा परे। उनीलगायत १४ जनालाई ओलीले सांसद पद नरहनेगरी कारबाही गरेपछि इगो झन् बढ्यो।

उनले एमालेमा समानान्तर भेला चलाए पनि ओलीसँग कुनै समझदारी बन्न सकेन। खासमा महाधिवेशनमा निर्वाचित अध्यक्ष भएका ओलीसँग समान हैसियतमा अध्यक्ष माग गरेका नेपालले त्यो पद नपाउँदा विस्तारै विभाजनतिर लम्किए। जे होस् माधव नेपालले ओलीसँगको इगो कायम राखेकै कारण बुधबार भनेका छन्,‘प्रचण्डलाई विश्वासको मत दिने नदिने त्यहि दिन थाहा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट