काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा झुल्किएपछि एमाले छाडेका घनश्याम भुसाल सोही पार्टीमा जाने चर्चा सुरु भएको छ।
भुसाल आफैंले उक्त विषयको पुष्टि नगरे पनि अध्यक्ष नेपालले उनीसँग कुराकानी भइरहेको बताएका थिए। नेपाल निवास कोटेश्वरमा भुसालको उपस्थितिले पनि उनी एकीकृत समाजवादी जान सक्ने स्वभाविक प्रक्षेपण गरिएको छ।
निर्वाचनका बेला स्वतन्त्र उम्मेदवार बनेका उनी पराजयपछि कम्युनिस्ट एकताको पक्षमा उभिएका थिए। तर एकाएक उनी माधवकुमार नेपालको पार्टीमा किन जान चाहिरहेका छन् भन्नेचाहिँ खुलेको छैन।
एमाले विभाजनका बेला १० बुँदे पक्षधर रहेका भुसालले माधव नेपालले गम्भीर गल्ती गरी नयाँ पार्टी स्थापना गरेको टिप्पणी गरेका थिए। आखिर किन फेरि सोही गल्तीको छहारीमा जाँदैछन्? भुसालनिकटस्थहरूका अनुसार चुनावअघि एसमाजवादी र माओवादी केन्द्र एकीकरण हुने चर्चा र तयारी थियो। सोही अवसरलाई सदुपयोग गरी कम्युनिस्ट एकीकरणको अभियान र पक्षमा खुल्दै भुसाल पनि बिलिन हुने तयारीमा थिए।
असली समाजवादको यात्रामा एकीकृत समाजवादी नै रहने बताउँदै नजिकका साथीभाईलाई सोही पार्टीमा जान सक्ने संकेत दिएका छन्। तर अध्यक्ष माधवकुमार नेपालका कतिपय राजनीतिक आचरणमा पनि सुधार आउन आवश्यक रहेको भुसालको ठम्याई रहँदै आएको थियो
तर सत्ता राजनीति र गठबन्धनले फरक स्वरुप लिएपछि उनको यो तयारी एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णयमा मात्रै सीमित हुने देखियो। ‘एकीकृत समाजवादीले नै छरिएका कम्युनिस्ट एकता गर्दै माओवादी केन्द्रसँग पनि जोडिने अभियान थाल्छ’, एक नेता भन्छन्,‘यो अभियानमा घनश्याम भुसाल जोडिनुमात्र हुन्न, अग्रपंक्तिमा भूमिका निर्वाह गर्नुहुन्छ।’
एमालेले टिकट नदिएपछि उनी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट हुँदै अलग भएका थिए। एमालेमा रहँदा पनि उनी कम्युनिस्ट आन्दोलनको पक्षमा नेतृत्व र अन्य कम्युनिस्ट पार्टीका नेताका बेथितिका विषयमा पनि बेजोड पैरवी गरिरहेका थिए।
भिडिओ रिपोर्ट
‘सच्चा कम्युनिस्ट र उसले लिएको समाजवादको बाटो केबल एक नेताको वरिपरिको भक्तिगानले मात्र पूरा हुँदैन त्यसका लागि दलाल, पुँजीपति, बिचौलियाको घेराबन्दीबाट नेता उम्कनुपर्छ’, भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित कार्यक्रममा नै भनेका थिए,‘त्यसो नभए हामी समाजवादमा पुग्न सक्तैनौं।’
उनले असली समाजवादको यात्रामा एकीकृत समाजवादी नै रहने बताउँदै नजिकका साथीभाईलाई सोही पार्टीमा जान सक्ने संकेत दिएका छन्। तर अध्यक्ष माधवकुमार नेपालका कतिपय राजनीतिक आचरणमा पनि सुधार आउन आवश्यक रहेको भुसालको ठम्याई रहँदै आएको थियो।
नेकपा फुटी एमाले र माओवादी अलग हुँदा भुसाल माधव नेपालको अभियानमा सक्रिय रहेका थिए। ओलीविरुद्ध विभिन्न स्थानमा भएका प्रशिक्षण र गुटगत भेलामा उनको भूमिका अग्रपंक्तिमा रहेको थियो।