काठमाडौं– केन्द्रीय समितिको बैठक केही दिन पछाडि धकेलेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलीमाथि प्रश्न उठाउने भएका छन्।
केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वयलाई सभापति देउवामाथि लगाइएका सार्वजनिक आरोपका विषयमा उत्तर खोजिने संस्थापन पक्षका एक केन्द्रीय सदस्यले बताएका छन्। उनका अनुसार कांग्रेसभित्र एउटा कुरा गर्ने र पछिल्लो पटक देखिएको सत्ता समीकरणपछि आरोप लगाउने विषय बाञ्छनीय नहुने देउवा पक्षका नेताहरूले बताउँदै आएका छन्।
प्रचण्डलाई अन्तिम समयमा प्रधानमन्त्री दिन तयार रहेका सभापति देउवासँग परामर्श नै नगरी तत्कालिन गठबन्धनको बैठक छल्न महामन्त्रीद्वय थापा र शर्मा पोखरा किन गएको? भन्ने प्रश्नबाट नै बैठक सुरु हुने बताइएको छ। विशेष तयारीका लागि सभापति देउवाले बैठकलाई केही दिन धकेलेका थिए।
गठबन्धन भत्किएपछि धुम्बाराहीस्थित डेरामा केही दिन मौन बसेका सभापति देउवाले कांग्रेसभित्र भएका बिरोध र व्यवाहारको सुक्ष्म विश्लेषण गरेका थिए। आफूनिकट नेतासँग मात्र भेट गरिरहेका देउवाले संस्थापनइतर त्यसमा पनि महामन्त्रीद्वयले देखाएको चरित्र राजनीतिक नभएको निकटस्थलाई बताएका थिए
गठबन्धनबाट ठूलो दल बनेपछि प्रधानमन्त्री र राष्ट्रपति पद कांग्रेसले छाड्न नहुने भनी दबाब दिने, कार्य सम्पादन समितिमा पनि सोही प्रस्ताव पारित गर्न सभापतिलाई बाध्य पार्ने तर सोही अडान लिँदा भएको सत्ता समीकरणको नयाँ परिघटनामा दोष पनि दिने द्वेध चरित्र महामन्त्रीद्वय थापा र शर्मामा देखिएको आरोप देउवा पक्षका नेताले लगाएका छन्। यसको पुष्टिचाहिँ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गरिसकेका छन्। उनले ब्रिफिङ गर्दै भनेका छन्,‘पार्टीभित्र जिम्मेवार तर्क नगर्ने, निर्णय एउटा गराउनका लागि सभापतिजीलाई बाध्य पार्ने अनि अहिले दोष पनि दिने कुरा जायज हुँदैन।’
भिडियो रिपोर्ट हेर्नुस् –
संसदीय दलको चुनावमा पराजित भएपछि महामन्त्री थापाले सार्वजनिक रुपमा नै गोप्य रुपमा हुने लेनदेनको भारी पार्टीले बोक्न नसक्ने बताएका थिए। यसकारण पनि सभापति देउवा अडानमा कायम रहेको बताइन्छ।
‘बन्द कोठामा भएको लेनदेनको सहमतिको जिम्मेवारी पार्टीले बोक्न सक्तैन, प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा स्वीकार्य हुँदैन। पार्टीमा छलफल हुनुपर्छ’, थापाले भनेका थिए। थापाको उक्त चेतावनीपछि भएको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीमा सभापति देउवालाई नै अगाडि सार्ने र राष्ट्रपतिमा पनि दाबी कायम राख्ने प्रस्ताव अनुमोदन भएको थियो।
गठबन्धन भत्किएपछि धुम्बाराहीस्थित डेरामा केही दिन मौन बसेका सभापति देउवाले कांग्रेसभित्र भएका बिरोध र व्यवाहारको सुक्ष्म विश्लेषण गरेका थिए। आफूनिकट नेतासँग मात्र भेट गरिरहेका देउवाले संस्थापनइतर त्यसमा पनि महामन्त्रीद्वयले देखाएको चरित्र राजनीतिक नभएको निकटस्थलाई बताएका थिए।
उनले पार्टीभित्र एक ढिक्का भएर ह्वीप मानेको खण्डमा अहिलेको सरकारको विकल्पमा कांग्रेसले कसरत गर्न सक्ने भन्दै पहिला केन्द्रीय समितिको बैठकमा संस्थापनइतरलाई साइजमा ल्याउन निर्देशन पनि दिएका छन्।