प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्राप्ति प्रकृया पुरा गरेपछि यहि पुस २६ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।
दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भई नेपाल राष्ट्र बैकलाई जानकारी दिइएको थियो । राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।
राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न पुस १९ गते प्रभु अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गरेको हो । दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तीका लागि स्वीकृति प्रदान गरिसकेका छन् ।
सेञ्चुरीको प्राप्तिपछि पनि बैंकको नाम प्रभु बैंक नै रहनेछ । प्राप्ति पश्चात् बैंकको केन्द्रिय कार्यालय हालको प्रभु बैंकको केन्द्रिय कार्यालय रहेको स्थानी, बबरमहल, काठमाडौंमै रहने जनाइएको छ ।
यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्नेछ । एकिकृत कारोबारका लागि तथ्याङ्क मिलान प्रयोजनका लागि पुस २२ गतेदेखि २६ गते विहान ९ः४५ बजेसम्म दुबै बैंकको केन्द्रिय कार्यालयदेखि सम्पूर्ण कार्यालयबाट प्रदान हुने सेवा बन्द रहने बैंकले जानकारी दिएको छ ।