काठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतको ७ दलीय गठबन्धनको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि नै नेपाली कांग्रेसले राजनीतिक चलखेल गरी सत्ता ढाल्ने खेल सुरु गरेको छ।
भारतीय पक्षको डिजाइनका आधारमा यस्तो चलखेल भएको संकेतहरू देखा परेका छन्। यसको एउटा प्रमाणचाहिँ देउवाका भित्रिया विमलेन्द्र निधिको दिल्ली दौड र नेपालका लागि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का नेपाल प्रमुखको सक्रियता समेत हो।
अर्कोचाहिँ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटरमार्फत राप्रपालाई गठबन्धनबाट हटाउनका लागि गरेको अपिलले पनि ठूलो राजनीतिक अस्थिरताको षडयन्त्र भइरहेको संकेत गरेको छ।
भारतीय जनता पार्टी (भाजपा)का नेताको निम्तोमा निधि दिल्ली पुगिसकेका छन्। उनी बिहीबार नै दिल्ली पुगेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने निधिको प्रयास असफल भएको थियो।
उच्च स्रोतका अनुसार प्रचण्डलाई विश्वासको मत लिन नै रोक्ने रणनीतिमा भारतीय पक्ष देउवामार्फत नयाँ खेल गरिरहेको छ। स्रोतले भन्यो,‘संसदमा देखिएको दलहरूको कमजोर उपस्थितिमा यस्तो अस्थिरताको खेल भइरहेको छ।’
उता भारतीय समाचार संस्थाहरूले एमाले अध्यक्ष ओली र प्रचण्डको गठबन्धन बन्नासाथ चिनियाँ शक्ति हावी भएको भन्दै ठूला खबरहरू प्रसारण गरेपछि भाजपाले नयाँ खेल सुरु गरेको बताइन्छ।
प्रचण्ड सरकार ढाल्नका लागि देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको कार्ड फ्याँकिसकेका छन्। एमाले, माओवादी र रास्वपाबिना नै बहुमत बनाउनका लागि देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलगायतसँग वार्ता गरिसकेका छन्।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले यसको संकेत गर्दै भनेका छन्,‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ! सरकारको अंक गणित निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसंग घाटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ। २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं!’
भिडियो रिपोर्ट
त्यसो त रअका नेपाल प्रमुख राघब भट्नाकरको सक्रियताले पनि यो सरकारले विश्वासको मत नपाई नै गिराउने खेल सुरु भएको पुष्टि गर्छ। भट्नाकर पुस १३ गते बिहान एयर इण्डियाको उडानबाट नेपालमा उत्पन्न अप्रत्यासित राजनीतिक घटनाक्रमपछि रिपोर्टिङका लागि नयाँ दिल्ली गएका थिए। उनी काठमाडौं फर्केपछि राजनीतिमा तरङ्ग देखिएको छ।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०६ मा नयाँदिल्लीबाट काठमाडौं आएर सोझै बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवास आसपास ग्यालेक्सी टीभीको अफिस छेउछाउ देखा परेको समाचारहरूमा जनाइएको छ।
यता राप्रपा महामन्त्री डा. धवल शमशेर राणाले भने अस्थिर राजनीतिमा आफ्नो पार्टी नलाग्ने बताइसकेका छन्। उनले अहिलेको गठबन्धनलाई नै बलियोगरी लैजाने पक्षमा राप्रपा रहेको प्रतिक्रिया दिएका छन्। यद्यपि नेपालको अस्थिर राजनीतिमा कस्तो घटना र परिघटना हुन्छन् त्यो अकल्पनीय नै हुने इतिहासका साक्षी राजनीतिक दलका नेता नै छन्।