प्रचण्डले सत्ता गठबन्धनबाहिर रहेका दलहरुबाट विश्वासको मत पाउने सम्भावना कति ?-Sutra News

प्रचण्डले सत्ता गठबन्धनबाहिर रहेका दलहरुबाट विश्वासको मत पाउने सम्भावना कति ?

सोमबार, २५ पौस २०७९

सोमबार, २५ पौस २०७९

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिदैछन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड आफूलाई समर्थन गरेका सबै सांसदबाट विश्वासको मत पाउनेमा ढुक्क छन् ।



माओवादी अध्यक्ष प्रचण्ड माओवादी केन्द्र, नेकपा एमाले, राप्रपासहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । नेपालको संविधान अनुसार धारा ७६ को उपधारा ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा ९४० बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

यसै कारण प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत पाउनको लागि सत्ता गठबन्धनबाहिर रहेका दलहरुलाई फकाइरहेका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुसँग पनि पधानमन्त्री प्रचण्डले निरन्तर छलफल गरिरहेका छन् ।

आइतबार पनि प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेट गरेकाथिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाल र यादवलाई सरकारमा सहभागी हुन र विश्वासको मत दिन अनुरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फकाउनका लागि एकीकृत समजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव समेत अघि सारेको स्रोतको भनाई छ ।

आफूले विश्वासको मत लिने भएपछि प्रचण्ड बृहत् वामपन्थी एकताको नारा लिएको नेताहरु बताउछन् । यस्तै राष्ट्रपति र सभामुख पाउने सर्तमा यी दुई दल प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बस्न सक्ने स्रोतको दाबी पनि छ । यदि त्यस्तो नभई राष्ट्रपति र सभामुख एमालेलाई दिएमा एसले विश्वासको मत प्रचण्डलाई नदिने सम्भावना पनि छ ।

आइतबारको भेटवार्तापछि जसपा अध्यक्ष यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कुनै शंका नै नरहेको बताएका थिए भने एसका अध्यक्ष नेपालले व्यक्तिगत रुपमा आफू सकरात्मक रहेको मात्र बताएका थिए । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताइसकेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । यसकारण सत्ता गठबन्धनबाहिर रहेका दलहरुबाट पनि विश्वासको मत पाउने विश्वासमा प्रचण्ड छन् ।

निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल रहेका छन् भने पाँच स्वतन्त्र सांसद रहेका छन्। जसमा नेपाली कांग्रेस ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्रका ५ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट