राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिलाई प्रवद्र्धन गर्न सके आर्थिक विकासमा फड्को मार्न सकिने बताउनुभएको छ ।
कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ कार्यक्रममा राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धनको ठोस योजना तथा कार्यक्रम अगाडि सारेर यसको कार्यान्वयन गर्नसके आर्थिक विकासमा फड्को मार्न सकिने बताउनुभयो । उहाले उहाँले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताउनुभयो ।
गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी कर्णालीमा रहेको प्राकृतिक स्रोत र साधन सदुपयोग गर्नसके सामाजिक तथा आर्थिकरूपमा समेत कर्णाली क्षेत्रलाई माथि उठाउन सकिने उहाँको भनाइ थियो । उहाँले विविध संस्कृतिले सजिएको नेपाल सांस्कृति सम्पदाले सुसम्पन्न विश्वभर परिचित रहेको बताउनुभयो ।
कार्यक्रममा कलाकार शम्भुजित बाँस्कोटा, नन्दकृष्ण जोशी, अमृत खाती, समाजसेवी ज्ञानेन्द्र श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो भने कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।