फकाउनमा खप्पिस् प्रचण्ड : कसरी पाए कांग्रेसबाट पनि मत ? भारतबाटै दबाब आएकै हो त ?-Sutra News

फकाउनमा खप्पिस् प्रचण्ड : कसरी पाए कांग्रेसबाट पनि मत ? भारतबाटै दबाब आएकै हो त ?

बुधबार, २७ पौस २०७९

बुधबार, २७ पौस २०७९

काठमाडौं – भनिन्छ राजनीतिमा शत्रु र मित्र दुवै हुँदैनन् । अघिल्लो दिनसम्म बोलचाल र पानी बाराबारको अवस्थामा रहेका नेताहरु भोलीपल्ट कुम कुम जुधाएर नजिकिइरहेका हुन्छन् । पछिल्ला दिनमा नेपाली राजनीतिमा पनि रोचक घटनाक्रम देखिइरहेका छन् । स्थानीय तह र संघिय निर्वाचनमा गठबन्धन नै गरेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सरकारको नेतृत्व गर्ने लोभले एकाएक काँग्रेससँग टाढिएर कुनै समय पानी बाराबारको अवस्थामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकाएक नजिकिए । संसदको सबैभन्दा ठूलो दल काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैले राख्न खोज्ने ढिपीले उसको भुईको टिप्न खोज्दा कोल्टाको पनि पोखियो । प्रचण्ड ओली कित्तामा पुगेसँगै गर्माएको नेपाली राजनीतिमा मंगलबार अर्को रोचक किस्सा देखिएको छ ।



मंगलबार नेपाली राजनीतिमा असम्भव देखिएको सम्भव हुन पुग्यो र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरे । प्रधानमन्त्री प्रचण्डले संसदबाट ऐतिहासिक मत पाउँछन् भन्ने कसैले सोचेको पनि थिएन । तर फकाउनमा खप्पिस् प्रचण्डले अत्यधिक समर्थनसाथ विश्वासको मत पाए । उनी नेकपा एमालेका तर्फबाट तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी पछिकै संसदमा ऐतिहासिक मत पाउने प्रधानमन्त्री बने ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन् । योसँगै प्रचण्ड नेतृत्वको सरकारविरुद्ध अब दुई वर्ष संसदमा अविश्वासको प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन् । मतदानमा २७० जना सहभागी भएकोमा उनले २६८ मत प्राप्त गरे । विपक्षमा २ मत मात्र भयो ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, जनमतसहितका दलले विश्वासको मत दिए भने राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने प्रधानमन्त्री प्रचण्डको प्रस्तावको विपक्षमा मत दिए । यसअघि मनमोहन अधिकारीले सदनमा रहेको उपस्थितिको शतप्रतिशत मत पाएका थिए । अधिकारीले २०५१ पुस ७ गते संसदमा १९८ मत पाएका थिए । २०५१ सालको राजनीतिक कालखण्डपछि संसदबाट धेरै मत पाउने प्रचण्ड नै भए ।

मंगलबार नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी बाहेक संसदमा उपश्थित सबै सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए । केहिदिनअघिसम्म प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनबाहिर रहेका दलहरुबाट विश्वासको मत पाउने सम्भावना कम थियो । सत्ता गठबन्धनबाहिर रहेका दलहरुबाट पनि मत पाउन प्रचण्ड नियमित भेटवार्तामा नै व्यस्त थिए । आफूले विश्वासको मत पाउनको लागि सत्ता गठबन्धनबाहिर रहेका दलहरुलाई भेटेर होस् या दूतको रुपमा पठाएर फकाउन कोशिसमा प्रचण्ड लागिरहेका थिए ।

पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेट गरेर पार्टी एकताको प्रस्ताव समेत अघि सारेको स्रोतको भनाई पनि थियो । आफूले विश्वासको मत लिने भएपछि प्रचण्ड बृहत् वामपन्थी एकताको नारा लिएको समेत नेताहरुले बताएका थिए । मंगलबार प्रचण्डलाई एकीकृत समाजवादी र जसपाससहित सबैभन्दा ठुलो दल बनेर पनि सत्ता गुमाएको कांग्रेसले पनि मत दियो । चुनावताको गठबन्धन टुटाएर नेकपा एमालेसँग गठबन्धन गरी सरकार बनाएपछि प्रचण्डसँग नेपाली कांग्रेसका नेताहरु रुष्ट थिए । यसैकारण विश्वासको मत माग्नको लागि प्रचण्डले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई पठाएका थिए । शर्माले सभापति देउवाकै निवास धुम्बाराही पुगेर देउवासँग विश्वासको मत दिन औपचारिक रूपमा प्रस्ताव राखेका थिए । शर्माले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

त्यसपछि देउवाले प्रचण्डलाई विश्वासको मत दिनेकी नदिने भन्ने बिषयमा शिर्ष नेताहरुलाई बोलाएर छलफल गरे । छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए । आफूलाई धोका दिएर एमालेसँग सरकार बनाउने प्रचण्डलाई विश्वासको मत दिने की नदिने भन्ने बिषयमा देउवा अलमलमा थिए । तर विश्वासको मत लिनु भन्दा एक दिनअघि प्रचण्ड र देउवाबीच भेटवार्ता भयो ।

जसको मेसो कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मिलाएका थिए । कांग्रेसलाई विश्वासको मत दिनुपर्छ भनेर भारतबाट दबाब आएको समेत अहिले नेताहरले बताएका छन् । विश्वासको मत दिए नयाँ सम्भावना खुल्ने विश्वासका साथ कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिन पुग्यो । प्रचण्डले विश्वासको मत पाइसकेपछि कांग्रेसका उपसभापति खड्काले अहिलेको परिस्थितिको मूल्याङ्कन गरेर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । खड्काले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्याङ्कन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए ।२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको र त्यसबेला पनि त्यसबेलाको परिस्थितिलाई ध्यानमा राखेर कांग्रेसले विश्वासको मत दिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट