नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार सुरु-Sutra News

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार सुरु

बुधबार, २७ पौस २०७९

बुधबार, २७ पौस २०७९

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज भई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार सुरु गरिएको घोषणा गरेका हुन् ।



मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेस्टमेन्ट बैंककै अध्यक्ष पाँडे र सीईओमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । नयाँ सञ्चालक समितिमा दुवै बैंक सञ्चालकको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्य राजभण्डारी, कविकुमार टिवडेवाला र मेगा बैंकबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेकी मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक कायम रहेकी छन् ।

कार्यक्रममा अध्यक्ष पाँडेले बैंकिङ क्षेत्रमा अग्रणी बैंकको रुपमा परिचित रहिआएका दुबै बैंक एकआपसमा गाभिएपछि देशकै ठूला वाणिज्य बैंकमध्येकै संस्था हुने र वित्तीय सूचकमा अग्रता हासिल गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको उनले बताए । मेगा बैंक अध्यक्ष शाहले दुई संस्थाबीचको मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सकारात्मक कदम भएको बताए ।

मर्जरपछि बैंकको कुल चुक्ता पुँजी ३४.१२ अर्ब, कुल पुँजी ५८ अर्ब बढी, कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, कुल निक्षेप ३६०.२ अर्ब तथा कर्जा लगानी ३२९.०६ अर्ब पुगेको छ भने ग्राहक संख्या ३० लाख पुगेको कार्यक्रममा जानकारी दिइयो ।

मर्जरपछि बैंकको शाखा संख्या २९६, एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ । भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लालाई समेटेर हरेक नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ ।

समृद्धिको पथमा सँगै अघि बढ्दै भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरेको यस बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ । दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट