काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताए ।
फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेको उनको भनाई थियो । फरार अभियुक्त संसदमै उपस्थित हुँदा किन पक्राउ गर्न सक्नु भएन भन्ने प्रश्नमा मन्त्री लामिछानेले आफूले नदेखेको र पछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिएको बताए । मधेश आन्दोलनका क्रममा घाइते भएका असई थमन विकको ज्यान लिएको आरोप उनलाई लागेको छ ।