काठमाडौं । नेपाली राजनितीमा फेरि वाम एकताको चर्चा चलेको छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै वाम एकताको बिषय चर्चामा आएको थियो ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताए पनि बीचमा यो चर्चा हराएको थियो । महासचिव गुरुङले कम्युनिष्टको एकताविना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताएका थिए । संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनर्स्थापना गर्न सफल भए राष्ट्रिय स्वाधीनतामाथि खतरा र बाह्य शक्तिले चलखेलप्रति नेतृत्वको ध्यान नपुगेको महासचिव गुरुङको भनाई थियो ।
अब फेरि पनि नेताहरुले वाम एकताको बिषय खोतल्न थालेका छन् । सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेको भन्दै माओवादीका नेताहरुले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गरिने बताएका छन् । यस अभियानमा माओवादीले बाबुराम भट्टराई र माधव कुमार नेपालसँग सम्बाद गर्ने भएको छ ।
माओवादीका नेता तथा कार्यदल सदस्य समेत रहेका गिरिराजमणि पोखरेलले उसका अध्यक्ष नेपालसँग यस बिषयमा अनौपचारिक छलफल सुरु भएको बताएका छन् । उनले सत्ता समीकरणको व्यस्तताले कार्यदलको बैठक बस्न नसक्दा ढिलाई भएको बताए । उनले अब वाम शक्तिहरू एकअर्कासँग नमिलिकन अगाडि बढ्ने स्थिति नभएको बताए । उनले अहिले नै एमालेसँग भने एकताको बिषयमा छलफल नहुने समेत बताए ।