काठमाडौँ । आइतबार बिहान यति एयरलायन्सको विमान दुर्घटनामा परेपछि अहिले देश नै शोकमा डुबेको छ । यति एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटनामा हालसम्म ६८ जना यात्रुको शव भेटिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ६७ जनाको शव आफन्तलाई जिम्मा लगाइदैछ । यस्तै यस घटनामा रुपन्देहीको तिलोत्तमाका डाक्टर गणेश थापाको मृत्यु भएको छ । आइतबार काठमाडौंबाट पोखरा जाँदै गरेका ३६ वर्षीय डा थापा पोखरा झर्न नपाउँदै दुर्घटनामा परे ।
उनी पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत थिए भने तिलोत्तमा नगरपालिका वडा नम्बर ४ डिङगरनगरमा बस्दै आएका थिए । उनकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरी काठमाडौंमा बस्दै आएका थिए । विदाको समयमा श्रीमती र छोरीलाई भेटेर उनी पोखरा फर्किदै थिए । दुर्घटनामा परेको खबरले उनको परिवार अहिले शोकमा छ ।