नारायण गाउँले । मन्त्रिमण्डलका सदस्य या सम्बन्धित कर्मचारी पूर्वनिर्धारित बिदा (होलिडे) मा रहेको भए पनि यस्तो राष्ट्रिय विपत्तिका बेला बिदा क्यान्सिल गरेर काममा फर्किने चलन हुन्छ । कार्यालय समय १०-५ भए पनि ‘ओभरटाइम’ व्यवस्था गरेर सूचना आदान-प्रदान र समन्वयका लागि अतिरिक्त समयमा समेत कार्यालयहरू खुल्न सक्ने गरी ‘स्ट्याण्डबाइ’ राखिन्छ । अस्पतालहरू ले छुट्टीमा भएका डाक्टर-नर्सलाई समेत बोलाएर आफूलाई ‘रेडी’ राख्छन् । नगरपालिका या गाउँपालिकाहरूमा कुनै पनि बेला आफन्तहरू आउन सक्ने कल्पनामा सूचना देखि काउन्सिलिङ्का लागि तैयारी गरिन्छ ।
यस्तो घड़ीमा सबैभन्दा ठूलो क्षति, शोक र असुविधा दुर्घटनामा पर्नेहरूको परिवारमाथि हुने हुनाले राज्यदेखि नागरिकको ध्यान र सोच तिनैमाथि केन्द्रित हुन्छ । क्षति आफैमा अपूरणीय हुन्छ, तर पनि तिनलाई थप असुविधा नपुगोस् भनेर अरूले एक कदम थप काम गर्नुपर्ने हुन्छ । यस्तोमा उड्डयन प्राधिकरणदेखि अध्यागमनसम्म, परराष्ट्र मन्त्रालयदेखि जिल्ला प्रशासनसम्म, प्रयोगशालादेखि ब्याङ्कसम्म सबैको काम अन्य दिनभन्दा बढ़ी हुन सक्छ ।
हामीले चाहिँ उल्टो बिदा दियौँ । आज गर्न पर्ने या हुन सक्ने कामका लागि भोलि कुर्नुपर्ने भयो । यसले अन्ततोगत्वा थप असुविधा थप्ने भयो । यो एक प्रकारको असंवेदनशीलता हो । हाम्रो नियत या मनसाय गलत होइन, तर हामी किंकर्तव्यविमूढ़ देखियौँ । हामी सबैसँग पदमा पुग्ने इच्छा छ, केही गर्ने इच्छा पनि छ तर कसरी गर्ने भन्ने ज्ञान कम छ । विमानस्थल उद्घाटन गर्दा पनि हामीसँग बिदा दिने बाहेक अर्को सिर्जनशील उपाय थिएन, आज हृदयविदारक दुर्घटना हुँदा पनि हाम्रो दिमागमा सबैभन्दा पहिले बिदा नै आयो । अलिकति ईगो पनि छ हामीसँग । हिजोकै स्ट्याटसमा गृहमन्त्रीले नागरिक अभिमत पढ़ेपछि बिदा दिने निर्णय सही नभएको जस्तो लागेको बताएका थिए । हिजो यो निर्णय फिर्ता लिन पनि सकिन्थ्यो । तर, उनले भविष्यमा विचार गरिने भनेर पन्छिए । अझ हस्पिटलले समेत इमरजेन्सीबाहेक अरू सेवा बन्द गरेको भन्ने खबरले अलिकति नमज्जा लाग्यो ।-दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जलि💐